हेटौंडा/हेटौंडा जेसीज सन् २०२० को अध्यक्ष पदका लागि हेटौंडाका युवा व्यवसायी सुधिर दाहालको चर्चा सुरु भएको छ । २०१२ देखि हेटौंडा जेसीजमा आबद्ध भएका दाहालले आगामी वर्षको कार्यकाल हाक्नका आफ्नो उम्मेदवारी घोषणा गरेर अभियान सुरु गर्ने तरखरमा रहेको बुझिएको छ । दुई पटकसम्म नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा मकवानपुरको अध्यक्ष पदमा रहेर सफल नेतृत्व गरिसकेका युवा व्यवसायी तथा समाजसेवीको रुपमा आफ्नो पहिचान बनाउन सफल दाहालले जेसीजको अध्यक्ष पदमा आफ्नो दाबी गरेस“गै हेटौंडा जेसीजभित्र चुनावी सरगर्मी सुरु भएको छ ।

जेसीजको चुनाव मिति तय नभए पनि दाहालले आन्तरिक तयारी सुरु गरिसकेको उनी निकट स्रोतले बताएको छ । ‘हो, यस पटक अध्यक्षमा मेरो दाबी मात्र होइन । उम्मेदवारी नै रहनेछ । त्यसका लागि मैले आन्तरिक तयारी मात्र होइन । छलफल समेत अगाडि बढाइसकेको छु ।’, दाहालले साझाकुरा दैनिकसँगको कुराकानीमा आफूले जेसीजमा करिब एक दशकसम्म सेवा गरेको र जेसीज साथीहरुले योगदानको कदर गर्ने विश्वास लिएको बताए ।

दाहालले जेसीजमा कार्यकारिणी उपाध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षको पद सफलतापूर्वक निर्वाह गरिसकेका छन् । उनी लायन्स क्लब अफ हेडम्बा, स्वास्थ्यकर्मी संघ जिल्ला शाखा उपाध्यक्ष, जलेश्वर मन्दिर निर्माण समिति सल्लाहकार रहेर समाजिक क्षेत्रमा काम गरिरहेका छन् । हेटौंडा जेसीज यसक्षेत्रको सबैभन्दा पुरानो जेसीज हो । मकवानपुर जिल्लामा पाँचवटा जेसीज रहेको छ ।