हेटौंडा/हेटौंडा उपमहानगरपालिका–१९ को बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको छ । वडाको सुरक्षास्थिति मजबुत बनाउने उद्देश्यले जडान गरिएको क्यामेराको मंगलबार हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उद्घाटन गरेका थिए । वडामा १४ वटा सीसी क्यामेरा जडान गरिएको र अब केहि दिनमा नै दुईवटा थप गरिने वडा कार्यालयले जनाएको छ । सात लाख खर्चेर जडान गरिएको सीसी क्यामेराको साँचो कार्यक्रमकाबीच महतले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख उपरीक्षक मुकेशकुमार सिंहलाइ हस्तान्तरण गरे । वडामा जडान गरिएको सीसी क्यामेराले नगरको शान्ति सुरक्षामा उल्लेख्य भूमिका निर्बाह गर्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महतले बताए । नगरको शान्ति सुरक्षामा उपमहानगरपालिकाले खर्च गर्न नहिच्किचाउने बताउँदै नपुग पैसा उपमहानगरले सहयोग गर्ने प्रतिबद्धता जनाए । विकास निमार्णको कार्यमा हेटौंडा उपमहानगरपालिका अग्रस्थानमा रहेको महतको दाबी थियो ।

कार्यक्रममा वडा अध्यक्ष नवराज सुबेदीले सीसी क्यामेरा जडानको कारण वडामा हुने विभिन्न नराम्रा कामको अन्त्य हुने बताए । यसैबीच जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेशकुमार सिहंले सीसी क्यामेराको सुरक्षाको लागि प्रहरी परिचालन गरिने बताए । नगरमा शान्ति सुरक्षाको लागि यो सीसी क्यामेराले राम्रो भूमिका निर्बाह गर्ने बताउँदै प्रहरीलाइ हस्तान्तरण गरिएको साँचोको रक्षा गर्ने प्रतिबद्धता जनाए ।

सात लाख खर्चेर जडान गरिएको क्यामेराका लागि हेटौंडा उपमहानगरपालिकाले एकलाख, १९ नम्बर वडा कार्यालयले तीनलाख, क्रसर व्यवसायीहरुले ७० हजारका साथै समुदायले एकलाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् । बस्तीपुर पुलचोक टोल विकास संस्थाकी अध्यक्ष अञ्जु पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख हरिबिष्णु ढकाल सशस्त्र प्रहरी बल हेटौंडाका प्रमुख विकास घिमिरे, ३ नम्बर वडाअध्यक्ष रामकुमार पुडासैनीलगायत १७ वटा टोल विकास संस्थाका प्रतिनिधिका साथै स्थानीयहरुको उपस्थिति रहेको थियो ।