मेरो नाम कृष्ण बहादुर ब्लोन हो । म ४७ वर्षको भए । मेरो घर हेटौंडा–१६, हटियामा छ । मेरो परिवारमा, श्रीमती आमा गरी ५ जना छोराछोरीहरु छन् । मैले सामान्य मात्रै लेखपढ गरेको छु । दाईहरु काम गर्न बाहिर हिड्नुहुन्थ्यो । घरमा गाईबस्तु टन्नै थिए त्यसैले मैले नै घरको काम गर्नुपथ्र्यो । त्यसैले मलाई घरबाट पढ्न पठाउनु भएको थिएन् । म आफैले बुझ्ने भएपछि पढ्ने भने र घरबाट पठाउनुभयो । घरबाट स्कुल पनि टाढा थियो तर पनि शुरुशुरुमा त जाने गर्थे पछि जानै मन लाग्न छोड्यो ।

मेरो उमेरमा साथीहरुले धेरै पढिसक्दा पनि म सानै कक्षामा । १७ वर्षको उमेरमा ६ कक्षामा पढ्न लाज भयो मनमा कताकता कुरा खेलेको जस्तो महसुस भयो त्यसैले पढाई छाडिदिए । पढाई छाड्ने बित्तिकै म कामको शिलसिलामा काठमाडौं पनि गएको थिए । त्यहि त हो काठमाडौंको ठाउँमा काम पाउन गाह्रो हुन्छ । त्यहाँ काम नभएपछि त्यहाँबाट फर्केर हेटौंडा आउने सोच बनाएर हेटौंडा आएर मैले जुत्ता सिलाउने काम गर्न थाले । मैले जुत्ता सिलाउन थालेको १७ वर्ष भयो ।

जुत्ताचप्पल सिलाएर नै मैले छोराछोरीलाई पढाए । २ जनाको त विवाह पनि भैसक्यो । घरपरिवारबाट सबैले जुत्ता चप्पल सिलाउँदा राम्रो भन्छन् । जानेको काम गर्नुपर्छ, काम सानोठूलो हुँदैन अफिसियल काम गर्ने पनि कामै गरेर पैसा कमाएर पेट पाल्ने हो जुत्ताचप्पल सिलाउनेले पनि जुत्ता सिलाएरै पेट पाल्ने हो । तरपनि केहि आफ्ना मान्छेहरुले भने तामाङ भएर पनि जुत्ता सिलाउने भनेर बचन लगाउँछन् । तामाङले जुत्ता सिलाउने काम गर्नुहुँदैन भनेर कहाँ लेखेको छ र आफ्नाले हेप्न खोज्छन् । मैले चोरेर खान हुँदैन काम गरेर खाएको छु जातले यो काम गर त्यो नगर भन्दैन भन्छु ।