नेपाल एक प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो । नेपाललाई हामीले शान्तिप्रेमी देश हो भनेर भन्छौं । तर हाम्रो देश नेपालमा अहिले न त शान्ति नै देख्न पाएका छौं, न त समृद्धि नै । नेपालीहरु आफू–आफूमै लड्ने अवस्था सृजना हुने सम्भावना देखिन थालेको छ । अहिले देशमा ठूलो संकट आइपरेको छ । तैपनि सरकार मौन छ । छिमेकी देश भारतको दबाब तथा हस्तक्षेपले पीडित भइरहेको नेपालीलाई झनै पीडित बनाउने काम सरकारले गरिरहेको छ । भारतले बल्झिरहेको घाउमाथि नुन थप्ने काम गरिरहेको छ ।

हाम्रो देश नेपालको सरकार तैपनि मौन बसिरहेको छ ।अहिलेको बहस भनेको कालापानी र लिपुलेक हाम्रो हो भन्दाभन्दै पनि भारतले हाम्रो मतलब गरेको छैन । के भारत ठूलो देश र शक्तिशाली राष्ट्र भएर एउटा सानो र कमजोर राष्ट्रलाई हेपाहा प्रवृत्ति देखाउन खोजिरहेको छ ? हाम्रो देश नेपाल हेर्नुहोस् त इतिहासमा नै कसैसामु अधिनस्थ नभएको देश हो । इतिहासको कुनै समयमा हाम्रो विशाल नेपाल पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म फैलिएको थियो । त्यतिबेलाको विशाल नेपाल अँग्रेज साम्राज्यको हस्तक्षेपका कारण मेचीदेखि महाकालीसम्म खुम्चियो र यहि बाँकी रहेको भू–भाग पनि दिन प्रतिदिन अतिक्रमण भइरहेको छ । सीमा क्षेत्रमा बनाइएको पिल्लर दिन प्रतिदिन सारिँदैछ । तै पनि नेपाली जनता मौन छन् । पटक–पटक भारतको हस्तक्षेप र सीमा अतिक्रमणको कार्यले हामी नेपाली हैरान भइसकेका छौं । के तपाईंको छिमेकीले एक इन्च जग्गा हड्पेको थाहा पाउनु भयो भने तपाईं सहन सक्नुहुन्छ ? अहँ, कदापि पनि सक्नु हुन्न । बरु आफ्नो जमिन फिर्ता लिनका लागि तपाईं सक्दो प्रयास गर्दागर्दै स्थानीय निकाय हुँदै सरकारलाई घच्घच्याउन जानुहुन्छ । सरकारले नसके आफ्नो हक अधिकारका लागि तपाईं आफैं लडाईं थाल्नुहुन्छ । २,०४,९१७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको विशाल नेपाल आज १,४७,१८१ वर्ग किलोमिटरमात्र बाँकी छ । त्यसमा पनि भारतीय अतिक्रमण र हस्तक्षेपबाट अझ खुम्चँदै गयो भने भविष्यमा नेपालको अवस्था के होला ? देशका हरेका क्षेत्रमा छिमेकी मुलुकका दबाब, प्रभाव र हस्तक्षेप देखिन्छ ।

वि.सं २०११ सालदेखि अतिक्रमण थालेको भारतले ५० देखि ६० हजार हेक्टर जमिन अतिक्रमण गरिसकेको छ । हाम्रो देश नेपाल लाचार बन्दै गइरहेको जस्तो लाग्दछ । बेलुका सुत्दा त नेपाली नागरिक हुन्छौं, तर विहान उठ्दा भारतीय नागरिक बन्न पुग्छौं भनेर बिलौना गर्नबाहेक हामी नेपाली जनतासँग अरु केहि बाँकी उपाय हुँदैन । हातमा नेपाली लालपूर्जा लिएर भारततिर हेरेर बिलौना गर्ने हजारौं नेपाली नागरिक छन् । कालापानी र लिम्पियाधुरा हाम्रै देश नेपालमा पर्छ भनी प्रमाण देखाउँदा–देखाउँदै, हुँदाहुँदै पनि भारतीय नक्सामा ती भू–भाग समावेश गरिँदा पनि हाम्रो देशको सरकार मौन किन छ ? मेरो देश नेपालले रगत मागे मलाई बली चढाऊ भनेर आफ्नो जीवन आहुती दिएर पुर्खाले जोगाएको धरोहर हामीले संरक्षण गर्न सकेका छैनौं । केबल आफ्नो साहसको भरमा वीर नेपाली हौँ भनेरमात्रै चिनिने हामी नेपाली आज आएर आफ्नो भूमिमा विदेशी मुलुकले गरिरहेको चलखेल देखेर पनि मूकदर्शक बनेर बसेका छौं ।

अब त हामीलाई इतिहासले धिकार्ने छ– हामीलाई, अनि पुर्खाको त्यागले सराप्ने छ ।हामी सच्चा नेपाली हौँ भने सम्पूर्ण नेपाली बिना बर्दीको प्रहरी हुन जरुरी छ । आफ्नो देशको सीमा सुरक्षा सम्पूर्ण नेपाली जनताले गर्न जरुरी छ । खुल्ला सिमानाकै कारणले नेपाली जनता लुटिनुपरेको छ । भारतीय अपराधी गिरोह नेपालमा बसेर गलत काम गरिरहेका छन् । नेपाली चेलीले आफ्नो इज्जत सम्मान लुटाउनु परेको छ । नेपाल भारतमा उत्पादित लागूपदार्थको खुल्ला बजार बनेको छ । उर्वर भूमि जलमग्न भएको छ । यसको प्रत्यक्ष असर तराईबासीलाई उठिबास भएको छ । अन्त्यमा, अहिले फेरि देशको राजनीति अबस्था तरल बन्दै गएको छ । देशको राजनीतिलाई संक्रमण लागेको जस्तो छ । सम्पूर्ण नेपाली जनता जाग्न जरुरी देखिन्छ । आफ्नो देशको सीमा सुरक्षा गर्न नेपाली जनता आफैंले केही गर्नुपर्छ ।