हेटौंडा/व्यवस्थित र गुणस्तरीय सहकारी स्थापना गर्ने उद्देश्यअनुरुप मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघले जिल्लाका सहकारीलाई मर्ज गर्न थालेको प्रयास असफल भइरहेको छ । गत जेठ महिनामा नै जिल्लाका विभिन्न १२ वटा सहकारी मर्ज हुने प्रक्रियाको अन्तिम चरणमा पुगेको बताईएपनि हालसम्म मर्ज हुन सकेका छैनन् । सहकारी ऐनले एउटै ठाउँमा एकै प्रकारका सहकारी हुन नहुने भनेको कारणले सहकारी मर्ज गर्ने प्रक्रिया सुरु गरेको संघले हालसम्म त्यसलाई पूर्णता भने दिन सकेको छैन । व्यवस्थित र गुणस्तरीय सहकारी स्थापना गर्नुको साथै सदस्यहरुको दोहारोपन अन्त्य गर्ने उद्देश्यले सहकारी मर्ज प्रक्रिया थालेको संघलाई सहकारीहरुले साथ नदिँदा सहकारीको प्रयास सफल हुन नसकेको संघले बताएको छ ।

सुरुमा मर्ज गर्ने तयारीमा रहेको भनेका सहकारीले पछि शेयर सदस्यहरुले नमानेको लगायतका विभिन्न कारण देखाउदै मर्ज प्रक्रियाबाट पन्छिने गरेका छन् । जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठले सहकारीको सबै निर्णय साधारणसभाबाट हुने भएकाले साधारसभाबाट शेयर सदस्यहरुको निर्णयअनुसार अघि बढ्दा मर्ज प्रक्रिया हुन नसकेको पनि बताइन् । ‘सहकारीको प्रतिनिधिले मात्रै भनेर हुदैन , सहकारीको निर्णयमा त्यहाँको शेयर सदस्यको महत्पूर्ण भूमिका हुन्छ । त्यसैले पहिले मर्ज गर्ने भनेका सहकारी पनि साधारणसभा पश्चात मर्ज प्रक्रियाबाट बाहिरएका हुन् ।’ उनले भनिन् । ‘एउटै भूगोलमा रहेका एउटै उद्देश्यका सहकारीलाई मिलाएर अघि बढ्दा सबैलाई राम्रो हुन्छ भन्ने विश्वासका साथ मर्ज पहल थालिएको हो , त्यसमा हाल सबै सहकारीले पुर्ण रुपमा साथ दिन नसकेपनि बिस्तारै सबैले बुझ्नु हुनेछ ।’ श्रेष्ठले थपिन् । केही समयअघिसम्म मर्ज गर्ने तयारीमा रहेका सहकारीहरु अहिले सुनसान अवस्थामा छन् । पहिले मर्ज गर्ने बताएका ती सहकारीको साधारणसभाबाट मर्ज नगर्ने निर्णय निस्केपछि उनीहरु पछि हटेको अध्यक्ष क्षेष्ठले बताईन् । यद्यपि हाल ८ वटा सहकारी मर्ज हुने प्रक्रियामा रहेको उनले बताईन् । मर्ज हुने तयारीमा रहेको सहकारीमा भीमफेदी गाँउपालिकाको महिला जागृति, महिला अभियान, महिला उत्थान, श्रृजनशील महिला , चण्डेश्वरी र महिला एकता बचत तथा ऋण सहकारी संस्था रहेको श्रेष्ठले जानकारी दिइन् ।

यस्तैगरी मकवानपुगढी गाँउपालिकाको महिला जागरण र श्रृजनशील बचत तथा ऋण सहकारी पनि एकीकरण गर्ने तयारीमा जुटेका छन् । मर्जमा जाने तयारीमा जुटिरहेको भीमफेदी गाँउपालिकाको चण्डेश्वरी बचत तथा ऋण सहकारी संघकी अध्यक्ष साबित्रि बलले आफूलाई मर्जमा जान ईच्छा नभएपनि गाँउपालिकाले बाध्य बनाएको आरोप लगाएकी छन् । ‘ गाँउपालिकाबाट नै गाँउपालिकामा एउटा मात्रै सहकारी हुनुपर्छ भन्ने ऐन नै बनेको छ । अब हामीले मर्ज हुने नहुने भनेर सुखै छैन, जसरी पनि मर्ज हुनैपर्छ ।’ उनले भनिन् । घरेलु हिंसा सामुदायिक सेवा केन्द्र पनि सहकारीले सञ्चालन गर्ने गरेकोले बचत थोरै भएपनि सहकारीले स्थानीय स्तरको महिलालाई आत्मभिर्नर बन्न सहयोग गरेको उनले बताइन् । ६ सय १९ जना शेयर सदस्य भएको सो सहकारीमा हाल दुईजनाले प्रत्यक्ष रुपमा रोजगारी समेत पाइरहेका छन् ।

सहकारी विभागले सहकारी संघ÷संस्था एकीकरण सम्बन्धी कार्यविधि, २०७० जारी गरेको छ । कार्यविधिमा एउटै कार्य क्षेत्रभित्र रहेका एक भन्दा बढी सहकारी संस्थाहरु, सञ्चालन लागत घटाएर सदस्यहरुलाई बढी लाभ वितरण गर्न चाहने संस्थाहरु, एउटै विषयसँग मेल खाने खालका संघहरु एकीकरण हुन सक्ने उल्लेख छ । कार्यविधिमा एकीकरण गर्दा ठूलो कार्य क्षेत्र रहेको अवस्था भए उपयुक्त स्थानमा सदस्यता सेवा केन्द्र खोल्न दिइने, फरक विषयका संस्थाहरु एकीकरण हुने भएमा त्यस्ता संस्थाहरुलाई सो संस्थाले चाहेको विषय वा प्रकृति राख्न स्वीकृति प्रदान गर्न सकिने उल्लेख छ ।