भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि पर्यटन पूर्वाधार विकास तथा प्रवद्र्धनका लागि प्रदेश ३ सरकारले अग्रसरता देखाएको छ । संघीय सरकारका पर्यटन मन्त्रीको संयोजकत्वमा सबै प्रदेशका मुख्यमन्त्री र पर्यटन मन्त्री सदस्य रहनेगरी भ्रमण वर्ष तयारी समिति गठन भएको छ । यस्तै, प्रदेश तहमा पर्यटन मन्त्रीको संयोकत्वमा सोही प्रकृतिको समिति बनाइएको छ भने प्रदेशले जिल्ला र स्थानीय तहमा पनि तयारी समिति गठन गरी भ्रमण वर्ष सफल बनाउन लागिपरेको छ ।

प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आफ्नो प्रदेशको पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा भौतिक पूर्वाधार निर्माणलाई समेत तीव्रता दिएको छ । संघीय राजधानीसमेत रहेको प्रदेश–३ मा सबैभन्दा बढी पर्यटकीय सम्भावना रहेको छ । हवाई मार्गबाट आउने सबै विदेशी पर्यटक संघीय राजधानी काठमाडौंमा आउनैपर्ने बाध्यताले पर्यटकका लागि प्रदेश ३ विशेष बन्ने गरेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका १० मध्ये ८ सम्पदा यसै प्रदेशमा छ । सबैभन्दा बढी पर्यटक आउने मुख्य गन्तव्य काठमाडौं उपत्यकाका साथै देशकै तेस्रो प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा पनि यसै प्रदेशमा पर्दछ । यसका साथै यहाँ रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक पर्यटकीय सम्भावनाको क्षेत्रहरुमा पर्यटकीय पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना प्रशस्तै रहेको छ ।

प्रदेश ३ सरकारले लाङटाङ तथा जुगल हिमाल, सिन्धुपाल्चोक र रामेछापको सिमानामा रहेको सैलुङ, चितवनको देवघाट, मकवानपुरको इन्द्रसरोबर–चित्लाङ–दामन–पालुङ क्षेत्र, शहीद स्मारकलगायतका स्थानहरु पनि प्रमुख पर्यटकीय गन्तव्यको रुपमा पहिचान गरेको छ । मकवानपुर, चिसापानी, सिन्धुली गढीजस्ता प्राचीन ऐतिहासिक महत्वको गढीहरुको संरक्षण एवम् प्रवद्र्धन गरी पर्यटकलाई आकर्षित गर्न लागिएको प्रदेश पर्यटन मन्त्रालयले जनाएको छ । लाङटाङ र हेलम्बुको बीचमा रहेको गोञ्जला पास खोल्नका लागि प्रदेश सरकार जुटेको छ । यस्तै, प्रदेशभित्र १० वटा हिलस्टेशन निर्माण गर्ने काम पनि अघि बढेको छ । चालु आर्थिक वर्षमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दुई अर्ब ८७ करोड ९५ हजार रुपियाँको योजना निर्माण गरी पर्यटन विकासका विभिन्न योजनाहरु अघि बढाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रदेश सरकारले विश्वभरका पर्यटकलाई प्राकृतिक, सामाजिक, सांस्कृतिक, धार्मिक सबै दृष्टिबाट नेपाल अनुपम देशको रुपमा परिचित गराउने जमर्को गर्नुलाई सकारात्मक मान्नुपर्छ । अन्य प्रदेशहरुले पनि भ्रमण वर्षको अवसरमा आ–आफ्नो प्रदेशमा रहेको पर्यटकीय सम्भावनाका क्षेत्रहरुको विकास र प्रवद्र्धन गर्ने हो भने भ्रमण वर्ष सफल बनाउन निकै सहयोग पुग्नेछ । देश विदेशमा नेपालको पर्यटकीय सम्भावना र पर्यटकीय पूर्वाधारहरुको उचित प्रचारप्रसारसहित पर्यटकलाई सहज सेवा सुविधा उपलब्ध गराएमा भ्रमण वर्ष सफल हुनुका साथै पर्यटनमार्फत् देशको आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । पर्यटन विकासका लागि उपयुक्त नीति निर्माण गर्दै पर्यटकीय गन्तव्य पहिचान र पूर्वाधार निर्माणमा संघ, प्रदेश तथा स्थानीय सरकारबीच सहयोग, समन्वय र सहकार्य आवश्यक छ ।