नमूना विद्यालय मागको प्रस्ताव आह्वान गरिएको छ । प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा नमूना विद्यालय स्थापनाको कार्यक्रम घोषणा भइसकेको छ । नमूना विद्यालयको व्यवस्था स्वयम्मा सकारात्मक पक्ष हो । शिक्षण संस्थालाई नमूना बनाएर सरकारी शिक्षाको उच्च व्यवस्थाको प्रमाण देखाउने प्रयासलाई सबैले सहयोग गर्नुपर्छ भन्नेमा विमति छैन । प्रदेश सरकारले आफ्नो कार्यक्रममार्फत् प्रस्तावको आह्वान गरेको छ भने संघीय
सरकारले पूर्वघोषित लक्ष्यअनुरुप नै सार्वजनिक सूचना जारी गरी नमूनाको लागि निवेदन माग गरेको छ । धेरै सरोकारजनहरुमा केही अन्यौलता भने कायमै छ । नमूना विद्यालय कस्तो हो ? के के सुविधा हुन्छन् ? कस्तो शिक्षण संस्था नमूना बनाउने हो ? यस्ता सबालमा सम्बन्धित स्थानका सरोकारवाला जानकार हुनैपर्छ । यस आलेखमा यिनै जिज्ञासाको बारेमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।

नमूना विद्यालय भनेको के हो ?
तोकिएका सबै सुविधायुक्त विद्यालय नै नमूना विद्यालय भन्ने बुझिन्छ । अब तोकिएका सुविधाभित्र पर्ने कुराहरु भने सूक्ष्म ढंगले विश्लेषण गर्नैपर्छ । पर्याप्त भवन, आवश्यक कक्षाकोठा, मापदण्ड पूरा गरेका फर्निचर, खेलमैदान, शौचालय, पिउनेपानी, खेल सामग्री, विज्ञान सामग्री, प्रयोगशाला, पुस्तकालयसँगै प्रशासनिक कोठाहरु, स्टोर, प्रविधियुक्त कम्प्युटर ल्याब, सभाहल, स्टाफकक्ष, संयोजककक्ष, छात्रावास, कम्पाउण्ड, सुरक्षा गार्ड, क्यान्टिन, आवासीय कर्मचारी, लेखा कोठा, प्रशासनकक्ष, प्रधानाध्यापककक्ष, सहायक प्रधानाध्यापककक्ष, व्यवस्थापन समितिको कार्यालय, शिक्षक अभिभावक संघको कार्यालय, पार्किड्ड व्यवस्था, आकर्षक बगैंचा, सूचनापाटी यी सबै नमूना विद्यालयका भौतिक पक्ष हुन् । यी सबैको निश्चित मापदण्डसमेत किटानी गरिएको हुन्छ ।
शैक्षिक स्तर राम्रो, आवश्यक शिक्षक पर्याप्त, कर्मचारी अभाव नभएको, लगनशील शिक्षक टिम, अनुशासित विद्यार्थी, सकारात्मक समुदाय, सक्षम व्यवस्थापन पक्ष, आर्थिक अभाव नभएको, स्तरीय शिक्षामा कतै खोट नदेखिने, पर्याप्त विद्यार्थी संख्याजस्ता विशेषता नमूना विद्यालयमा हुनुपर्छ भन्ने मान्यता छ । उल्लेखित कुराहरु हाम्रा नमूना मानिएका विद्यालयमा छन् वा छैनन् त्यो हेर्ने, अनुगमन गर्ने संयन्त्रलाई मात्र जानकारी हुनसक्छ । एउटा नमूना माध्यमिक विद्यालयमा कम्तिमा कति विद्यार्थी हुनुपर्ने भन्ने पनि स्पष्ट छ । यद्यपि नमूना आधारभूत वा प्राथमिक विद्यालय स्थापनाबारे हाम्रा जिम्मेवार अंग अझै मौन छ भन्नुपर्दा नराम्रो लाग्छ ।
नमूना माग गर्ने कि बनाउने ?
यो अर्को महत्वपूर्ण सबाल हो । यहाँ हाम्रो स्कूल नमूना बनाउनुप¥यो भनेर माग गर्ने, निवेदन दिने प्रचलन छ । धेरै मुलुकमा चलिरहेका स्कूलमध्ये कुनलाई नमूना बनाउन उपयुक्त हुन्छ भनेर हेर्ने संयन्त्र अलग हुन्छ । पहुँचको भरमा निर्णय गर्ने संस्कार रहेसम्म यो समस्या बन्नसक्छ । प्रत्येक स्कूल आफूलाई नमूना बन्न रुचाउँछन् । दावी गर्छन् । पहुँच बढाउँछन् ।सांसद, मन्त्रीको पावर प्रयोग गर्छन् । निर्णय पनि पावरको प्रतिस्पर्धामा उछिन्नेकै हुन्छ । मापदण्ड देखाउने दाँत सावित हुन्छ । चाकडीको सामुन्ने अरु निरिह बन्छन् । मलाई पुरस्कृत गर्नुपर्छ भनेर निवेदन दिने प्रथाजस्तै हो यो पनि ।

सरकारी शिक्षण संस्थामध्ये कुन स्कूल वा कलेज मोडेल बनाउने र किन बनाउने भन्ने निर्णय सरकारले गर्नुपर्छ । जनप्रतिनिधिले गर्नुपर्छ । निवेदन दिएर भनसुनमा निर्णय गर्ने परम्परा कायम रहिरहने हो भने वर्तमान व्यवस्थाकै उपहास हुन्छ । तर्कहरु आ–आफ्ना हुन सक्छन् । मुख्य कुरा यथार्थ के हो, कुन वस्तुपरक हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । माग गर्नेभन्दा कुन स्थानमा कुन विद्यालय मोडेल बनाउनु राम्रो हुन्छ र त्यसका कारण के होलान् भन्ने कुराले बढी महत्व राख्नुपर्ने हो । बढीभन्दा बढी विद्यार्थीलाई पायक पर्ने गरी नमूना बनाउनु राम्रो हुन्छ । नमूनाको नाममा थप विकृति र असहज पहुँचको प्रतिस्पर्धा रोक्नुपर्छ । कुन स्थानमा कुन विद्यालय नमूना बनाउने हो त्यसको उपयुक्त अनुगमन गरी निर्णय लिने प्रशासनिक संयन्त्रलाई क्रियाशील बनाउनैपर्छ ।हचुवाको भरमा काठमाडौंमा बसेर दूरदराजको विद्यालय यो वा त्यो मोडेल भयो भनेर निर्णय बाहिर ल्याउनुलाई कदापि राम्रो मानिँदैन । नमूना स्कूल वा कलेज निर्माणमा निर्णयदेखि त्यसको कार्यान्वयनसम्म सूक्ष्म निगरानी जरुरी पर्छ । बजेट दिनुमात्र ठूलो कुरा हुँदैन ।

बजेटको सही सदुपयोग मुख्य सबाल हो । मापदण्डको कार्यान्वयन सबैभन्दा महत्वपूर्ण पक्ष हो । आजको संघीय लोकतान्त्रिक व्यवस्थामा पनि हिजोकै संस्कार परम्परागत स्थापित हुनुलाई परिवर्तन भन्न मिल्दैन । नमूना माग गर्न प्रस्ताव, निवेदन माग्ने, दिने कुरा ठूलो नबन्ला, तर मोडेल निर्णय गर्दा निवेदनमात्र आधार नबनोस् भ नेर ध्यानाकर्षण गर्न खोजिएको हो । यो आलोमा केही गम्भीर शैक्षिक सबालहरु उठेका छन् । हामी सदुपयोग र कार्यान्वयन चाहन्छौं । टिप्पणी र दुरुपयोगको अन्त्य हुनुपर्छ । सही अर्थ मोडेल स्कूलको अवधारणा स्वयम्मा सकारात्मक मानिए पनि व्यवहारमा आलोच्य रहेकाले जिम्मेवार अंग तथा तहबाट गम्भीरतापूर्वक निर्णय हुने अपेक्षा गरिएको छ । रमेशप्रसाद लामिछाने