हेटौंडा/नेपालका चर्चित गजलकार प्रदिप रोदन र कवि सुदेश सत्यलले हेटौंडामा संयुक्त रचना बाचन गरेका छन् । झरना साहित्यिक परिवार मकवानपुरको २४५ औँ साहित्य शृङ्खलाका अवसरमा शनिबार रोदनले एक दर्जनभन्दा बढी गजल सुनाए भने छन्द कवि सत्यालले आधा दर्जनभन्दा बढी कविता सुनाएका थिए । सःशुल्कसहित आयोजित कार्यक्रममा मकवानपुरका करिब सय जनाभन्दा बढी साहित्यकार तथा साहित्य साहित्यप्रेमीको उपस्थिति रहेको थियो ।

झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कवि आर आर चौलागाईँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको विशिष्ट आतिथ्यता रहेको थियो । हेटौंडा स्कुल अफ म्यानेजमेन्टको प्रायोजनामा कार्यक्रम भएको थियो । रचना बाचकलाई चित्रकार अक्रिन अधिकारीले तयार गरेको सर्जकहरू स्वयमकै स्केच मायाको चिनोस्वरुप प्रदान गरिएको थियो । झरनाले हरेक महिना साहित्यिक कार्यक्रम तथा विभिन्न साहित्यिक गतिविधि गर्दै आएको छ ।