हेटौंडा/नेवारी संस्कृति, भेषभूषा र रहनसहनको जगेर्ना गर्ने उद्देश्यले मकवानपुरमा पहिलो पटक मिस नेवा मकवानपुर हुने भएको छ ।

आगामी चैत ८ गते फाइनल हुने मिस नेवाको लागि आवेदन लिन सुरु गर्ने तयारी गरिएको मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । लुक्स फेसन एण्ड ईभेन्ट म्यानेजम्यान्ट प्रालिको आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागी नेवार सुन्दरीलाई ४५ दिनसम्म तालिम दिई छनौट गरिने बताइएको छ ।

कम्पनीका प्रमुख तथा कार्यक्रम व्यवस्थापक रविन्द्र बज्रचार्यका अनुसार सामाजिक कार्य गर्दै आइरहेको जीवन कल्याण तथा सहजीकरण संस्थाको सहकार्यमा कार्यक्रम गर्न लागिएको हो । प्रतियोगिताको लागि देशका जुनसुकै स्थानमा बसोबास गर्ने एसएलसी पास भएका अबिवाहित युवतीले आवेदन दिन सक्नेछन् । मिस नेवा विजेताले नगद १ लाख, फष्ट रनरफले ७० हजार र सेकेन्ड रनरफले ४५ हजार नगद प्राप्त गर्ने प्रतियोगिता संयोजक विजय श्रेष्ठले बताए । प्रतियोगीले एक हजारको फर्मसहित १५ हजार रुपैयाँ तालिम शुल्क बुझाउनुपर्ने बताइएको छ । माघ १६ गतेसम्म फारम भरिसक्नुपर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको लागि कुल ३५ लाख ४५ हजार खर्च हुने अनुमान गरिएको छ ।