हेटौंडा/दोस्रो संस्करणको वीपी कप फुटबल प्रतियोगिता–२०७६को सेमिफाइनल समिकरण पूरा भएको छ । हेटौंडामा जारी बीपी कप फुटबल प्रतियोगितामा सोमबार अन्तिम चारमा पुग्ने तीन टोलीको टुंगो लागेसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो ।

यसअघि हेटौंडा–२ ले सेमिफाइलनमा स्थान बनाइसकेको थियो । फाइनल प्रवेशको लागि हेटौंडा–२ ले गढी गाउँपालिका र हेटौंडा–१९ ले हेटौंडा–३ सँग प्रतिस्पर्धा गर्नेछ । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि अन्तिम आठको खेलमा हेटौंडा–१९ ले ७ लाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको थियो । खेलमा विजयी टोलीका रोशन प्रजा म्यान अफ दी म्याच घोषित भए । गढीले हेटौंडा–५ लाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गरेको थियो ।

निर्धारित समयमा दुवै पक्षबाट गोल नभएपछि टाइब्रेकरमा गढी भाग्यमानी सावित भयो । विजयी गढीका साजन लामा म्यान अफ दी म्याच घोषित भए । हेटौंडा–३ ले कैलाशलाई टाइब्रेकरमा १–० गोलअन्तरले पराजित गरेको थियो । सेमिफाइनल खेल मंगलबार हुनेछ । खेलमा पराजित टोली कैलाशका अजय जुरुङ म्यान अफ दी म्याच घोषित भए । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगिताको फाइनल पुस १६ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान हुप्रचौरमा जारी प्रतियोगितामा २२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता नकाउटका आधारमा सञ्चालन भइरहेको छ ।