हेटौंडा/स्थायी राजधानी र नामाकरणको विषयलाई टुंग्याउनका लागि सत्तारुढ दल नेकपा प्रदेश ३ संसदीय समितिको बैठक शुक्रबारबाट हेटौंडामा सुरु भएको छ । बैठकको सुरुवातमै संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा सचिवालयको निर्णय अनुसार हेटौंडा स्थायी राजधानी र नाम बागमती राख्ने विषयलाई सर्वसम्मतरुपमा टुंग्याउने गरी अगाडि बढ्नुपर्ने बताएका थिए ।

पुस २१ र २२ गते आव्हान गरिएको प्रदेशसभा बैठकबाट प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय टुंग्याउने तयारीमा प्रदेशसभा सचिवालय रहेको छ ।‘पार्टीको केन्द्रीय नेतृत्वको आवश्यक निर्देशन नहुँदा दुईवर्षदेखि यस विषय अगाडि बढेको थिएन । पार्टीबाट आवश्यक निर्देशन आएपछि प्रक्रिया अगाडि बढ्ने भएको हो । अब यस विषयमा धेरै लामो समय दिनुपर्दैन । जसरी भएपनि २२ गते प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाएर मात्र सदन स्थगित हुनेछ ।

सबैले पार्टी नेतृत्वको निर्देशन कार्यान्वयन गर्नुको विकल्प छैन । केही साथीहरुको असन्तुष्टी भए सम्बोधन हुनेछ ।’, मुख्यमन्त्री पौडेलले भने । नेकपा सचिवालयको आइतबार सम्पन्न बैठकले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नामाकरण बागमती गर्ने निर्णय गरिसकेको छ । पहिलो दिनको संसदीय दलको बैठकमा १७ जना सांसद्हरुले आफ्नो मत राखेका थिए । बैठकमा नेकपा प्रदेश सांसद्हरु पशुपति चौलागाईं, विजय सुवेदी, माधव पौडेल, कृष्ण भुर्तेल, हिरानाथ खतिवडा, दीनेश महर्जन, सरेश नेपाल, राजकाजी महर्जन, विशाल खड्का, कुसुमकुमार कार्की, प्रकाश श्रेष्ठ, मणिराम फुयाँल, बसुन्धरा हुमागाईं, डा. राजेन्द्रमान श्रेष्ठ, रचना खड्का, ओम ग्लान र हिमाली गोलेले प्रदेश स्थायी राजधानी र नामाकरणको विषयमा आफ्नो धारणा राखेका थिए । बैठकमा सांसद्हरुले प्रदेशको अधिकारमा केन्द्रले हस्तक्षेप गरेको आरोप लगाएका थिए भने केहीले सचिवालयको निर्णायको बचाउमा उत्रेका थिए । ‘अधिकांश सांसद्हरुले भौगोलिकरुपमा पायक पर्ने स्थानमा राजधानी तोक्नुपर्छ भन्ने भनाइ रहेको छ । सचिवालयको निर्णय र स्थान विशेष नै तोकेर छलफल अगाडि बढेको छ ।’,

बैठकमा सहभागी एक सांसद्का अनुसार यसविषयमा निर्णाय संवैधानिक तवरबाटै हुन जरुरी रहेको औंल्याइएको थियो । ‘संबैधानिक तवरबाटप्रदेशको स्थायी राजधानी र नामाकरण टुंगिनेछ । त्यसका लागि हामीले साथीहरुको रायसुझाव लिइरहेका छौं । बैठक अझै दुईदिनसम्म चल्नेछ ।’, नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाँलले २१ गते र २२ गते बस्ने प्रदेशसभाको बैठकबाट स्थायी राजधानी र नामाकरण टुंग्याउने गरी छलफल भइरहेको बताए ।

‘नामाकरणको विषयमा पनि धेरै साथीहरुले आआफ्नो भनाइ राखिरहनु भएको छ ।’, उनले भने । कांग्रेस सांसद्ले भनेस्वविवेक प्रयोग गर्नेप्रदेश ३ को प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेस सांसद्हरुले स्थायी राजधानी र नामाकरणको विषयमा स्वविवेक प्रयोग गर्नपाउने निर्णय गरेको छ । शुक्रबार काठमाडौंमा बसेको संसदीय दलको बैठकमा बोल्ने प्रदेशसभा सांसदहरुले स्वविवेक प्रयोग गर्नपाउनुपर्ने माग गरेसूगै स्वविवेक र स्वतन्त्र पूर्वक प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयमा बोल्न पाउने निर्णय गरेको कांग्रेसका सचेतक छिरिङ दोर्जे लामाले बताए । ‘केही सांसद्हरु पार्टीको पूर्वनिर्णय अनुसार अगाडि बढ्नुपर्छ भन्नेमा हुनुहुन्छ । केहीले स्वविवेक प्रयोग गर्न पाउनुपर्छ भन्ने हुनुहुन्छ ।’, अर्को बैठक पुस २१ गते हेटौंडामा बस्ने गरी बैठक सम्पन्न भएको छ । बैठकले नेकपा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामाकरण तोकेकोप्रति दुःख व्यक्त गर्दै प्रदेशसभाको अधिकार प्रदेशसभाले नै प्रयोग गर्नपर्नेमा जोड दिएको छ ।