हेटौडा/हेटौंडा जेसीजको सन् २०२० को अध्यक्षमा राजदेव बानियाँ निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट अध्यक्षका प्रतिष्पर्धी दिपेश जोशीलाई पराजित गर्दै बानियाँ एक वर्षे कार्यकालको लागि निर्वाचित भएका हुन् ।

कुल एक सय ५३ मतमध्ये एक सय ४२ मत खसेकोमा बानियाँले ८५ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका प्रतिष्पर्धी जोशीले ५७ मत मात्रै प्राप्त गरे । त्यस्तै जेसीजको उपाध्यक्षमा सञ्जीव तिमल्सिना सुदिप, विकेशलाल श्रेष्ठ, प्रलय राई र विवेकानन्द न्यौपाने विजयी भएका छन् । कुल पाँचजनाको उम्मेदवारी परेकोमा डायनियल न्यौपानेले ८० मत प्राप्त गरी पराजित भएका हुन् । उपाध्यक्षमा तिमल्सिनाले एक सय ३८, श्रेष्ठले एक सय २४, राईले एक सय १० र न्यौपानेले एक सय १२ मत प्राप्त गरेको निर्वाचन आयुक्त रवि नेपालले जानकारी दिए । कार्यकारिणी उपाध्यक्षमा पवनकुमार कंशाकार र श्रवण वर्तौला बिजयी भएका छन् । पाँच जनाको उम्मेदवारी परेकोमा वर्तौलाले ७५ र कंशाकारले ७० मत प्राप्त गरी बिजयी भएका हुन् । उनीहरुका प्रतिष्पर्धी पुष्पराज पुडासैनीले ५८, साजन सुबेदीले ४८ र गंगाप्रसाद पौडेलले १८ मत प्राप्त गरे ।

सन् २०१२ मा जेसीजमा प्रवेश गरेका नवनिर्वाचित बानियाँ ३९ औं राष्ट्रिय महाधिवेशनमा उपसमिति सदस्य, २०१३ मा क्षेत्र ‘ख’ संयोजक, २०१३ मै उत्कृष्ट सदस्यता पुरस्कृत, २०१४ मा अर्थ संकलन संयोजक, २०१५ मा जेसीज उपाध्यक्ष, २०१६ मा भवन निर्माण संयोजक, २०१८ मा कार्यकारीणी उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । बानियाँले आफ्नो कार्यकालमा वार्षिक कार्यक्रमहरु उत्कृष्टताका साथ निरन्तरता दिने साथै युवा स्वरोजगार तालिम लगायतका कार्यक्रम गर्ने प्रतिवद्धता जनाएका छन् ।