हेटौंडा/प्रहरीले हेटौंडा–१५ स्थित रातोमाटेबाट दुई छुट्टाछुटटै सवारीबाट ५३ किलो अवैध लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।

शनिबार बिहान विशेष सुराकीको आधारमा हेटौंडा–१५ स्थित इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट एक ट्रक र एक भारतीय जीपबाट गाँजासहित चार जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुमार कुशवाहको टोलीले भारतको मोतिहारी जिल्ला पुर्वी चम्पारण कुडुवा चैनपुर बारवा बस्ने ३७ वर्षीय दिलिप कुमार सिंह, मोतिहारी रघुनाथपुर बस्ने १८ वर्षीय उज्जल कुमार ठाकुर, रौतहटको यमुनामाई गाउँपालिका–४ बस्ने २४ वर्षीय विकास सिंहलाई अबैध गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

डिएल ३ सीएक्यु ४१७२ नम्बरको भारतीय कारबाट अन्दाजी ३२ किलो गाँजा बरामद भएको छ । कारबाट फरार भए पश्चात चाइनिज पेस्तोल प्रयोग गरी ३ राउण्ड हवाई फायर गरी कार र कारमा सवार ३ जनालाई प्रहरीले समात्न सकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शुसिल सिंह राठौंरले बताए । कार्यलयमा पत्रकार सम्मेलन गर्दै राठौंरले उनीलाई लाई कानुनी प्रावधानमा लाग्ने दण्ड सजाय हुने बताए । त्यस्तै, मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बस्ने ३५ वर्षीय राजकुमार मोक्तानलाई पनि मकवानपुर प्रहरीले २१ किलो गाजाँसहित पक्राउ गरेको छ । मनहरीबाट बीरगंजतर्फ जाँदै गरेको बा ५ ख ७२६८ नम्बरको ट्रकलाई शंका लागेपछि प्रहरीले रोक्ने प्रयास गर्दा ट्रक भगाइएको थियो । प्रहरीर्ले पछ्याउदै चुरियामाईको जंगलबाट उक्त ट्रकसहित मोक्तानलाई पक्राउ गरिएको हो ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक राठौरले लागूऔषध र अपराध नियन्त्रणमा उल्लेखनीय भूमिका खेल्ने प्रहरीको मूल्यांकन गरी आवश्यक पुरस्कारकोसमेत व्यवस्था गरिएको जानकारी दिए । आफूले मकवानपुरमा हुने लागूऔषध कारोबारलाई निस्तेज पार्नेसमेत प्रतिवद्धता जनाए ।