हेटौंडा/प्रदेश नम्बर ३ को सरकारले हेटौंडा उपमहानगर–पालिका क्षेत्रमा विभिन्न करिब दुई दर्जनभन्दा बढी योजना सञ्चालन गर्ने भएको छ ।

एक वर्षीय तथा बहुवर्षीय गरी २१ वटा योजना छनौट गरी कार्यान्वयनको चरणमा गएको छ । उपमहानगरसँगको साझेदारीमा प्रदेशले विशेष गौरवका आयोजना छनौट गरेको हो । प्रदेश सरकारले गर्न लागेका महत्वपूर्ण कामका लागि उपमहानगरपालिकाले जग्गा उपलव्ध गराउने र आवश्यक बजेट पनि खर्च गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि हेटौंडा १० टीसीएनको खाली जग्गा र हेटौंडा ११ थानाभ¥याङको गरी १२ विगाहा जग्गा उपलव्ध गराउने उपमहानगरको कार्यपालिका बैठकबाट निर्णय गरिएको छ । एकीकृत बस्ती विकासका लागि हेटौंडा ८ नगर विकास समितिको ५ बिगाहा जग्गा प्रदान गर्न लागिएको छ भने हेटौंडा १३ वनस्पति र हेटौंडा १५ फायरलाइनरोडको जग्गा पनि बस्ती विकासकै लागि दिन लागिएको छ ।

त्यसैगरी कृषि सुपर मार्केट, अटो भिलेज, अन्तराष्ट्रिय सभाहल, अपाङ्गता पुनरस्थापना केन्द्र, सेफ हाउस, प्रदेश यातायात निगम, प्रदेश पूर्वाधार निर्माण कम्पनि, राष्ट्रिय परीक्षा बोर्ड, ईन्जिनियरिङ प्रयोगशाला, बासुदेव स्मृति कमर्सियल भ्यूटावर, एकीकृत चार्जिङ स्टेसन, घरेलु तथा औद्योगिक सामाग्रीघर, पर्यटन सूचना केन्द्र निर्माणका लागि हेटौंडामा जग्गा उपलव्ध गराउन उपमहानगर राजी भएको छ । प्रदेशका सबै मन्त्रालय, प्रदेशसभा भवनलगायतका कार्यालयको लागि आवश्यक सम्भावित ठाउँहरुको लागि हेटौंडा ९ लामसुरेमा रहेको हेटौंडा सिमेन्टको जग्गा र हेटौंडा ५ को मत्स्य विकास केन्द्रलाई लिइएको छ । बसपार्क निर्माणका लागि हेटौंडा वसपार्क, सामुदायिक आँखा अस्पताल, हेटौंडाको कर्रा करिडोर, चक्रपथ निर्माण, हेटौंडा ८ चन्द्रोदय मावि नजिक रहेको चौरमा प्याराफिट निर्माण लगायतका काम यसै वर्षबाट सुरु हुने बतइएको छ । अहिले हुप्राचौरमा रहेको बासुदेव सभागृहको भवनलाई भत्काएर बासुदेव स्मृति कमर्सियल भ्यूटावर निर्माण गर्न लागिएको हो । सबै संरचना निर्माण सम्पन्न गर्न करिब ३० करोड बजेट अनुमान गरिएको छ ।