धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुर महानगरपालिका–१६ मा बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका सहयोग जुटाउने क्रम तिब्र भइरहेको छ । रंगशाला निर्माणको कामले खासै गति लिन नसकेको भए पनि देश विदेशबाट विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जुटिरहेको छ । कतिपय व्यक्ति तथा संस्था रंगशाला निर्माणस्थलमै पुगी श्रमदानसमेत गरिरहेका छन् ।

रंगशाला निर्माणमा सहयोग पु¥याउने उद्देश्यले विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण हुने हास्य टेलीश्रृंखलामा प्रवद्र्धनात्मक सामग्रीसमेत समावेश गरी प्रशारण भइरहेको छ । मंगलबारमात्रै हेटौंडा उपमहानगरपालिकाले रंगशाला निर्माणका लागि ३० लाख रुपियाँ सहयोग प्रदान गरेको छ । मेयर हरिबहादुर महतले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली)लाई सहयोग राशिको चेक हस्तान्तरण गरेको हो । भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसरको २० विघा ६ कठ्ठा जमिनमा रंगशाला निर्माणको काम भइरहेको छ । गतवर्ष माघमा रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिका र फाउण्डेसनबीच सम्झौता भएको थियो । करिब ३ अर्ब लागतमा बन्ने रंगशालाको ६ महिनाभित्र डीपीआर तयार गरी त्यसको दुई वर्षभित्र रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, गत कात्तिक पहिलो साता डीपीआर सार्वजनिक भएको थियो ।

डीपीआर तयारीमा केही विलम्ब भएको र निर्माण कार्य अपेक्षित गतिमा अघि नबढेका कारण निर्धारित समयमा रंगशाला निर्माण सम्पन्न हुने सम्भावना कम देखिन्छ । क्रिकेटसहित झण्डै तीन दर्जन खेल खेलाउन मिल्नेगरी बनाउन लागिएको रंगशाला २५ हजार दर्शक अट्ने क्षमताको हुने बताइएको छ । हास्य कलाकारको रुपमा ख्याति कमाएका धुर्मुस–सुन्तली जोडीले २०७२ को विनाशकारी भूकम्पपश्चात् आफ्नो नेतृत्वमा धुर्मुस–सुन्तली फाउण्डेसन स्थापना गरी सामाजिक कार्यमा अग्रसर बन्दै थुप्रै उदाहरणीय कार्य गरेका छन् । काभ्रेपलाञ्चोकको पहरी गाउँ, सिन्धुपाल्चोकको गिरानचौर, महोत्तरीको बर्दिबास तथा रौतहटको सन्तपुरमा एकीकृत नमुना बस्ती निर्माण गरेको फाउण्डेसन अहिले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेको छ । करिब ५ अर्ब लागतको नमुना नेपाल निर्माणको योजनालाई थाँती राखी फाउण्डेसनले क्रिकेट रंगशाला निर्माण गरिरहेको छ । धुर्मुस–सुन्तलीको अभियानमा विगतको जस्तै सहयोग जुटेमा क्रिकेट रंगशाला निर्माण हुने निश्चित देखिन्छ । तर, ठूलो रकमको परियोजना भएकाले व्यक्तिगत सहयोगबाट मात्र आवश्यक रकम जुट्ने सम्भावना देखिँदैन । साना सामाजिक क्षेत्रका परियोजनामा आशातित सहयोग जुटाएर समयमै सम्पन्न गरेको फाउण्डेसनका लागि ३ अर्बको क्रिकेट रंगशाला निर्माण पूरा गर्न निकै चुनौतीपूर्ण हुनेछ ।

व्यक्तिगत र संस्थागत सानो–सानो सहयोगबाट मात्र
रंगशाला निर्माण सम्पन्न गर्न सहज छैन । हेटौंडा उपमहानगरपालिकाले जस्तै संघ, प्रदेश तथा स्थानीय सरकारले सक्दो सहयोग प्रदान गरेर देशकै खेल क्षेत्रको धरोहर बन्नसक्ने अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सघाउनु आवश्यक देखिन्छ ।