हेटौंडा/लामो समयको रस्साकस्सीपछि प्रदेश–३ को स्थायी राजधानी र नामाकरण टुङ्गो लाग्ने भएको छ । प्रदेशमा एक्लैको दुई तिहाईभन्दा धेरै मत रहेको नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकले स्थायी राजधानी हेटौंडा र बागमती प्रदेश नामको लागि एउटै मात्र प्रस्ताव लैजाने सहमति गरेको हो ।

नेकपा संसदीय दलको पटक÷पटक गरी पाँच दिनसम्म चलेको बैठकपश्चात् शुक्रबार सहमति जुटेको हो । नेकपा सचिवालयको निर्देशन अनुसार प्रदेशसभामा स्थायी राजधानी हेटौंडा र नाम बागमती दर्ता हुने भएको हो । सबै सांसदहरुको धारणा सुनेपछि प्रदेशको स्थायी राजधानी र नामकरणको विषयमा सहमति भएको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । मुख्यमन्त्री पौडेलले कुनै सांसदले फ्लोर क्रस गर्ने र अर्को प्रस्ताव दर्ता हुने सम्भावना नरहेको बताए । सहमति नजुटेको खण्डमा व्हिप लगाएर भए पनि पार्टी सचिवालयको निर्णयलाई कार्यान्वयन गराउने तयारीमा संसदीय समिति रहेको थियो । नेकपा प्रदेश ३ इञ्चार्ज तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले पार्टीको केन्द्रीय सचिवालयको निर्णय अनुसार संसदीय दलमा पनि निर्णय भएको बताइन् ।

पार्टीको निर्णय सवैले कार्यान्वयन गर्नैपर्ने भन्दै उनले एकमतले कार्यान्वयन गर्ने बताइन् । तर, पार्टीले आफूहरुसँग सल्लाह नगरी ठूलो गल्ती गरेको उनको भनाइ थियो । उनले संसदीय दलको बैठकमा उठेको फरक मतलाई पार्टीभित्र दर्ता गर्ने गरी एउटामात्र प्रस्ताव प्रदेशसभामा दर्ता गराउने सहमति भएको बताइन् । नामकरणभन्दा पनि स्थानको विषयलाई लिएर नेकपाभित्र विशेष गरी विवाद सिर्जना भएको थियो । बहुमत सदस्य काभ्रेको पक्षमा रहँदा पटक÷पटक बैठक स्थगित भइरहेको थियो । नेकपा सचिवालयले पनि दुईपटकसम्म पार्टीको निर्णय अनुसार अगाडि बढ्नका लागि निर्देशन दिनुपर्ने अवस्था सिर्जना भएको थियो । प्रदेशसभामा नेकपाको ८० मत रहेका छ । ७४ मत भए स्थायी राजधानी र नामकरणका लागि पुग्छ । यसैबीच नेपाली काँग्रेस संसदीय दललले पनि ३ नम्बर प्रदेशको स्थायी राजधानीबारे आफ्नो पार्टी सभापति शेरबहादुर देउवाको निर्णय कार्यान्वयन गर्ने भएको छ ।

तत्कालीन प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादर देउवाले प्रदेशको अस्थायी राजधानी हेटौंडा राख्ने निर्णय गरेको भन्दै कांग्रेस सोही अनुसार अगाडि बढ्ने बुझिएको छ । कांग्रेसले संसदीय दलले कुनै व्हिप जारी भने गरेको छैन । हेटौंडाकै पक्षमा सांसदहरुले मतदान गर्ने कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले बताए । पार्टीका सभापतिले २ बर्ष अघि गरेको निर्णय विरुद्ध कांग्रेस सांसद नजानेमा आफू विश्वस्त रहेको बताए । बैठक अवधिभर पार्टीको अनुमतिविना हेटौंडा नछाड्न र मतदानमा सहभागी हुन निर्देशन संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सांसद्हरुलाई दिएका छन् । प्रदेशसभामा कांग्रेसका २२ सांसद् रहेका छन् ।
आज प्रस्ताव, भोलि मतदान
प्रदेशसभाअन्तर्गत् कार्यव्यवस्था तथा परामर्श समितिको शुक्रबार बसेको बैठकले स्थायी राजधानी र नामबारे मतदानको मिति टुङ्ग्याएको हो । कार्यसूची अनुसार शनिबार स्थायी राजधानीको स्थान र नाम प्रदेशसभामा दर्ता हुनेछ । प्रदेशसभा दर्ता भएको स्थान र नामको विषयमा सदनमा छलफल सकिएपछि आइतबार निर्णायार्थ पेश हुनेछ । दुवै विषयमा मतविभाजनद्वारा प्रक्रिया टुंगिने प्रदेशसभा सचिव रामशरण घिमिरेले बताए । राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदन अनुसार पाँच जिल्लामध्येबाट जिल्ला र जिल्लाको कुनै स्थान नै तोकेर राजधानीको लागि प्रस्ताव सदनमा दर्ता हुनेछ ।

कांग्रेसका सचेतक छिरिङ दोर्जेका अनुसार सदनमा दर्ता भएको जिल्लाहरुको स्थानमध्येबाट एक स्थानलाई मतविभाजनद्वारा राजधानी घोषणा गरिनेछ । समितिले डेढवर्षअघि नै काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर स्थायी राजधानीका लागि योग्य भएको भन्दै सिफारिस गरेको थियो । प्रदेशसभाले पास गरेको प्रदेश नामकरण सम्बन्धी कार्यविधि २०७६ अनुसार नाम प्रस्ताव प्रक्रिया अगाडि बढ्नेछ । यसअघि सदनमा दर्ता भएका नामहरु पुनः प्रस्ताव गर्नुपर्ने हुनेछ । कार्यविधिअनुसार सदनमा दर्ता भएका नामहरुमध्येमा मतविभाजनद्वारा एउटा नामको टुंगो लगाइने छ । प्रदेशसभाको बैठकमा प्रदेशको स्थायी राजधानीमाथिको छलफल सकिएको छ । शुक्रबारको प्रदेशसभाको बैठकमा १५ जना सांसद्हरुले आफ्नो धारणा राखेका थिए । कुल ५८ जना सांसद्हरुले आफ्नो भनाइ सदनमा राखेका थिए । सांसदहरुबाट उठेको प्रश्नको जवाफ दिँदै अध्ययन समितिका सभापति दीपक निरौलाले आफूहरुले पाएको अधिकारको आधारमा जिल्लामै पुगेर प्रतिवेदन तयार पारेको बताए ।