हेटौंडा÷प्रदेश ३ को स्थायी राजधानी र नामकरण सर्वसम्मत नहुने भएको छ । प्रदेश ३ को आइतबार बिहान बस्ने प्रदेशसभा बैठकले स्थायी राजधानीको स्थान र नामकरण टुंग्याउँदैछ । शनिबार भएको प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राधजानीका लागि दुई स्थान प्रस्ताव भएको छ भने नाम बागमती मात्र प्रस्ताव भएपनि सर्वसम्मत नहुने भएको हो ।

प्रदेशको राजधानीका लागि मकवानपुरको हेटौंडा र काभ्रेपलाञ्चोकको धुलिखेल प्रस्ताव भएको छ । प्रदेशको नाम बागमती मात्र प्रदेशसभामा दर्ता भए पनि स्वतन्त्र सांसद् प्रेमबहादुर तामाङले विपक्षमा मतदान गर्ने भएस“गै प्रदेशको नामकरण सर्वसम्मत नहुने देखिएको हो । प्रदेशको राजधानी हेटौंडाको प्रस्ताव नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले गरेका थिए । मुख्यमन्त्री पौडेलको प्रस्तावमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपा नेपालकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङले समर्थन जनाएकी थिइन् । प्रदेशको नाम बागमती राख्ने प्रस्ताव नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले गरेका थिए । प्रस्तावमा नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँल, राप्रपा नेपालकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ, विवेकशील नेपाली दलका रमेश पौडेल र साझा पार्टीकी शोभा शाक्यले समर्थन गरेका थिए । दुवै प्रस्तावमा नेपाल मजदुर किसान पार्टीले समर्थन जनाएपनि प्रस्ताव दर्ता प्रक्रियामा भने सहभागी भएनन् । प्रदेश स्थायी राजधानी तोक्ने र नामकरण गर्ने प्रस्ताबमाथि शनिबार नै बसेको प्रदेशसभा बैठकमा छलफल सकिएको छ ।

आइतबार विहान नौ बजेबाट मतदान प्रक्रिया सुरु हुने प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । स्थायी राजधानी र प्रदेश नामकरण सम्बन्धी कार्यविधि २०७६ अनुसार प्रदेशसभा सचिवालयमा प्रदेशको स्थायी राजधानीको स्थान र नामको प्रस्ताव दर्ता भएको थियो । ‘आइतबारको बैठकमा हामी प्रस्ताव भएका स्थान र नामहरुमाथि उठेको प्रश्नको जवाफ दिँदै उक्त प्रस्ताबलाई निर्णायार्थ पेश गरी मतविभाजनद्वारा टुंग्याउने छौं ।’, सभामुख श्रेष्ठले भने । राजधानी सम्भाव्यत्ता अध्ययन समितिको प्रतिवेदन अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर स्थायी राजधानीका लागि योग्य भएको भन्दै सिफारिस गरेको भएपनि काभ्रे र मकवानपुरका लागि मात्र मतदान हुने भएको हो । मकवानपुरको पक्षमा नेकपा, कांग्रेस, नेपाल मजदुर किसान पार्टी, राप्रपा नेपाल र राप्रपा संयुक्त रहेका छन् भने काभ्रेको पक्षमा विवेकशी नेपाली र साझा पार्टी रहेका छन् । सदनमा नेकपाको ८०, कांग्रेसको २२, नेमकिपा दुई, राप्रपा नेपाल र राप्रपा संयुक्तको एक÷एक मत रहेको छ । प्रदेशसभामा विभिन्न समयमा गरी गौरीशंकर, नेवा(ताम्सालिङ, नेपाल मण्डल, पशुपतिलगायत नाम प्रदेशसभा सदस्यहरुले दर्ता गराएको भएपनि नामकरण सम्बन्धी कार्यविधि २०७६ अनुसार बागमती मात्र प्रदेशसभामा दर्ता भएर प्रस्ताव गरिएपछि नामकरणको विषयमा लगभग टुंगिएको छ ।

‘नाम र स्थान दुवैमा मेरो समर्थन छैन । न स्थान पाएका पर्ने देखिन्छ । नामभित्र पहिचान भेटिएन । त्यसकारण मेरो समर्थन छैन ।’, तत्कालीन नयाँ शक्ति पार्टीबाट रसुवाबाट प्रतिनिधित्व गरेका स्वतन्त्र सांसद् प्रेम तामाङले भने । नामको विषयमा तामाङ बाहेकको मत सम्पूर्ण प्रदेशसभा सदस्यहरुको समर्थन रहेको छ । प्रदेशसभामा कुल एकसय दश सांसद्हरु रहेका छन् । स्थायी राजधानी र नामकरणका लागि ७४ मत भए पुग्नेछ । दुवै विषयमा सर्वसम्मत नहुने भएपछि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अझै मतदान अगाडिसम्म सहमतिको प्रयास गरिने बताए । ‘हामी ९९ प्रतिशतसम्म सफल भइसकेका छौं । अझै सहमतिको प्रयास जारी नै रहेको छ ।’, उनले भने, ‘हामी संवैधानिकरुपमा प्रदेशको स्थायी राजधानी र नामकरण टुंग्याने अन्तिम चरणमा पुगेका छौं । कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाूले राजधानी र नामकरण साझा ऐजेण्डा भएकाले सत्तापक्ष र प्रतिपक्षी नभनेर एकताबद्ध भएर सर्वसम्मतबाट टुंग्याउन कोसिस गरिएको बताए ।