हेटौंडा/मकवानपुरको सतिदेवी सामुदायिक वनको हरिया साल र अस्ना जातको रुख कटान गरी बिक्री गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले जिल्ला वन कार्यालय मकवानपुरका तत्कालीन वन अधिकृत (डीएफओ) राजेन्द्र न्यौपानेलगायत १३ जनाविरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार, वन अधिकृत न्यौपानेसहित सहायक वन अधिकृतहरु रामवावु यादव, राजेन्द्रमान राज भण्डारी, विशाल भट्टराई, सोनालाल जयसवाल र नारायणबहादुर कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

त्यस्तै तत्कालीन रेन्जर राजु लामा, फरेस्टर मोहनराज घिमिरे, वन रक्षक किरणकुमार क्षेत्री र धनलाल यादव तथा सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमानसिंह न्यासुर, सचिव हरिमाया मोक्तान र कोषाध्यक्ष रेजिना गोलेलाई पनि मुद्दा लगाइएको छ । तत्कालीन गढी इलाका, सेक्टर, जिल्ला वन कार्यालय, क्षेत्रीय वन निर्देशनालय हेटौडाका कर्मचारी तथा सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुको मिलेमतोमा स्वीकृत कार्ययोजना तथा निर्णय विपरीत ९ हजार १७८ क्यू.फिट काठ हुने गरी हरिया साल तथा अस्ना जातका रुखहरु काटेको पारेर एक करोड ५२ लाख १९ हजार ३२६ रुपैयाँ ७६ पैसा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।