प्रदेश ३ को नाम र स्थायी राजधानी तोकिएको छ । प्रदेशसभा गठन भएको करिब दुई वर्षपछि नाम र स्थायी राजधानी तोकिएको हो । प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोकेको हो । प्रदेशको नाम वागमती कायम गराउने प्रदेशसभामा एउटामात्र प्रस्ताव दर्ता भएको थियो ।

प्रदेशको नाम राजधानी कायम गर्ने प्रस्तावको पक्षमा १०८ मत परेको थियो भने विपक्षमा मत नै परेन । १ सय १० सदस्य रहेको प्रदेशसभामा एक जना सदस्य मतदान प्रक्रियामा सहभागी भएनन् भने सभामुखले मत दिएनन् । प्रदेशको स्थायी राजधानी तोक्ने विषयमा दुईवटा प्रस्ताव दर्ता भएकोमा हेटौंडा कायम गर्ने प्रस्ताव पनि दुई तिहाई बढी मतले पास भएको छ । पक्षमा १ सय ५ मत परेकोमा काभ्रेको धुलिखेलको पक्षमा तीन मत परेको थियो । संघीय संरचनाअनुसार राज्यको पुनर्संरचनापश्चात् तत्कालीन नेपाली काँग्रेस नेतृत्वको सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोक्ने क्रममा २०७३ माघमा ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडालाई तोकिएको । अस्थायी राजधानी तोकिएसँगै प्रदेश प्रमुखको कार्यालय स्थापना भई अस्थायी मुकाम कायम गरियो । २०७४ मंसिरमा संघीय तथा प्रदेश संसदको निर्वाचनपश्चात् गठन भएको प्रदेशसभाको पहिलो बैठक २०७४ माघ १८ गते हेटौंडामा बसेको थियो । तत्कालीन मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकामको रुपमा हेटौंडामा क्षेत्रीयस्तरका केही कार्यालहरु रहेका थिए । क्षेत्रीय कार्यालयहरु र केही जिल्लास्तरीय कार्यालयका भवनहरु प्रयोग गरी प्रदेशसभा र प्रदेश सरकारका सबैजसो संरचनाहरु तयार गरिए ।

अस्थायी राजधानी बनेसँगै हेटौंडामा स्थायी राजधानी कायम गराउन जिल्ला तहका शीर्ष नेताहरुले विभिन्न लविङ गरे । नागरिक समाजको तर्फबाट पनि केही रचनात्मक र दवावमूलक प्रयासहरु भए । अन्य प्रदेशहरुमा अस्थायी राजधानीलाई नै प्रदेशसभाले स्थायी कायम गर्दै गएपछि हेटौंडालाई नै प्रदेश ३ को स्थायी राजधानी कायम गर्न राजनीतिक दलका शीर्ष नेतृत्वमा दबाव प¥यो । प्रदेशसभामा स्थायी राजधानी र नामाकरणमा सत्तारुढ नेकपाकै सभासदहरुबीच एकमत नहुँदा सम्भावित कुनै ठाउँ र नाउँमा दुई तिहाई नपुग्ने सम्भावनाले गर्दा प्रदेश सरकारले सहमति कायम नहुँदासम्म नाम र राजधानीको विषय प्रदेशसभामा पेश नै गरेन । राजधानी तोक्ने प्रक्रिया ढिला हुँदै गएपछि सत्तारुढ नेकपाकै सचिवालय बैठकले नाम वागमती र राजधानी हेटौंडा कायम गर्न सिफारिस गरेपछि बल्ल प्रदेशसभा बैठकमा प्रस्ताव दर्ता गरी औपचारिकता दिने काम भयो । ढिलै भए पनि प्रदेश ३ को नाम वागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ । संघीयता र विकेन्द्रीकरणको मर्मबमोजिम संघीय राजधानी काठमाडौंबाट केही पर प्रदेश राजधानी तोकिनुपथ्र्यो । राजधानी जहाँ तोकिँदा पनि सबै सन्तुष्ट हुने थिएनन् । हेटौंडा राजधानी बन्दा हेटौंडाबासी निकै खुशी देखिएका छन्, जुन स्वभाविक हो । राजधानीका लागि सम्भावित अन्य ठाउँका पक्षधरलाई निराश बनाए पनि यस निर्णयलाई स्वभाविकरुपमा लिई अब प्रदेशको विकासलाई तिब्रता दिन अग्रसर हुनुको विकल्प देखिँदैन ।