हेटौंडा/बुद्धचित्त र रुद्राक्षसहित कारोबरमा संलग्न तीनजनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको चेकिङ टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत् मनहरी गाउँपालिका–७, मनहरी बजारमा काठमाडौंबाट भारततर्फ जाँदै गरेको बीआर ०१ पीएच ४९४० नम्बरको भारतीय कारलाई रोकी चेकजाँच गर्ने क्रममा अबैध एकहजार सातसय ७० थान बुद्ध चित्तको माला र एकसय ४४ थान रुद्राक्षको माला सहित तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए । प्रकाउ पर्नेमा भारतको बिहारका ३२ वर्षीय मुन्ना यादव, काभ्रे साविक तिमाल गाविस–२ का ४२ वर्षीय जगत लामा तामाङ र ४२ वर्षीय सूर्यमान तामाङ रहेको छन् ।

उनीहरु यसको कारोबारी रहेको र उनीहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय पठाइएको उपरीक्षक राठौरले बताए । ‘प्रारम्भिक अनुसन्धान गर्दा उनीहरु लामो समयदेखि यस कार्यमा संलग्न रहेको देखिन्छ । हामीले पक्राउ गरेर वनको जिम्मा लगाएका छौं । अब मुद्धाको प्रक्रिया उत्तैबाट अगाडि बढ्छ ।’, उनले भने ।