हेटौंडा/ बागमती प्रदेशको स्थायी राजधानी हेटौंडालाई कायम गरिएपछि यहाँका उद्योगी र व्यवसायीहरु हर्षित बनेका छन् । स्थानीयबासी एवम् सरोकारवाला पक्षहरुले पनि खुसीयाली मनाइरहेका छन् । आइतबारको प्रदेशसभाबाट प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमती घोषणा भएसँगै मकवानपुरका उद्योगी व्यवसायीले व्यापार व्यवसाय राम्रो हुनुका साथै र आर्थिक गतिविधि बढ्ने अनुमान गरेका छन् ।

‘स्थायी राजधानी हेटौंडा हुँदा व्यवसायी मात्रै होइन सबैलाई राम्रो हुन्छ । हेटौंडाको अर्थतन्त्र नै बदलिन्छ भन्ने हाम्रो विश्वास रहेको छ ।’ मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले भने ‘अब व्यवसायीहरुले हेटौंडामा लगानी बढाउँछन् । सुविधा सम्पन्न होटल, कम्प्लेक्सहरु खुल्नेछन् ।’ सडक सञ्जालले जोडिएको हेटौंडालाई थप व्यवस्थित बनाएर अगाडि बढाउने समय आएको कटुवालले बताए । हेटौंडामा विस्तारै बैंक तथा वित्तीय संस्थाहरु पनि थपिने र प्रत्यक्षरुपमा लगानी, रोजगारी र उत्पादनसँग जोडिने क्रियाकलाप बढी हुने उनको विश्वास रहेको छ । उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले भने स्थायी राजधानीसँगै प्रादेशिक औद्योगिक, व्यावसायिक र यातायात नीति व्यवसायीमैत्री बनाउनुपर्ने बताए । बागमती प्रदेश अन्य प्रदेशभन्दा फरक रहेको भन्दै पोखरेलले व्यवसायीमैत्री कानुन बनाएर लगानी भिœयाउनेतर्फ ध्यान दिनुपर्ने बताए । उनले भने–‘औद्योगिक विकासका लागि चाहिने आवश्यक पूर्वाधार र नीति निर्माण गर्नुपर्छ । निर्माणाधीन औद्योगिक क्षेत्रको काम चाँडै सक्नुपर्छ ।’ ठूलाठूला उद्योग आउने वातावरण तयार गर्न अब तव्रताको साथ काम गर्नुपर्ने उनको भनाइ थियो । ‘अब औद्यागिक क्षेत्रहरु प्रदेश सरकार मातहतमा ल्याएर लगानीमैत्री कानुन निर्माण गरेर अगाडि बढ्नुको विकल्प छैन ।’, उनले भने ।

नारायणी यातायात व्यवसायी संघ हेटौंडाका महासचिव सरोज खनालले राजधानी भएपछि हेटौंडाबासीको काँधमा जिम्मेवारी पनि थपिएको बताए । सडक फराकिलो बनाउने, गुणस्तर भौतिक पूर्वाधार निर्माण गर्ने र व्यवसायीहरुलाई थप जिम्मेवार बनाउनुपर्ने समय आएको खनालको भनाइ छ । ‘स्थायी राजधानी भएसँगै प्रशासनिक समस्या समाधानका लागि मन्त्रालयहरु यहाँ नै हुनेछन् । कानुन निर्माणमा समेत हामीले प्रत्यक्षरुपमा भूमिका खेल्ने मौका पाउनेछौं, यो हाम्रो लागि अवसरको कुरा पनि हो ।’, उनले भने । प्रदेशको स्थायी राजधानी भएसँगै उद्योगी व्यवसायीका साथै हेटौंडाबासीले नै खुसीयाली मनाइरहेका छन् । आइतबार बेलुका दीपावलीका साथै विभिन्न चोकचोकमा स्वागत ¥याली निकालिएको थियो । हेटौंडाबासीले राजधानी कायम गर्न भूमिका खेल्ने सांसदहरुलाई धन्यवादसमेत दिएका छन् ।

हेटौंडामा रहेका विभिन्न संघसंस्थाले हेटौंडाको बुद्ध चोकमा निर्णयको स्वागत गर्दै दीप प्रज्ज्वलन समेत गरेका थिए । राजधानी हेटौंडा कायम गर्न सांसदहरुलाई दबाब दिन एकताबद्ध भएका विभिन्न संघसंस्थाको सहभागितामा दीप प्रज्वलन गर्दै निर्णयको स्वागत गरिएको हो । दीप प्रज्वलन कार्यक्रमका संयोजनकर्ता सन्तोष चौलागार्इंले प्रदेशसभाबाट भएको यो निर्णय १३ जिल्लाका सबै नेपालीको जित भएको उल्लेख गरे । राजधानी र नाम नतोक्दा अस्थायी मानसिकताबाट काम गर्नुपरेको अवस्थाको अन्त्य भएकाले अब सरकारले विकास निर्माणलाई ध्यान दिएर समृद्धिको बाटोमा लाग्नुपर्ने उनको भनाइ थियो । स्थायी राजधानी हेटौंडा नै हुनुपर्छ भनेर लामो समयदेखि आवाज उठाउँदै आइरहेको जनसरोकार केन्द्र मकवानपुरले पनि निर्णयको स्वागत गर्दै सबैमा धन्यवाद ज्ञापन गरेको छ । केन्द्रका संयोजक ध्रुवप्रसाद चौलागाईंले हेटौंडा स्थायी राजधानी हुँदा समग्र प्रदेशबासीकै हित हुने बताए । मकवानपुर उद्योग वाणिज्य संघ, होटल एसोसिएसन अफ मकवानपुरलगायतले हेडम्बीचो र बुद्धचोक नजिकै दीप प्रज्वलन गरेका थिए । हेटौंडासहित जिल्लाका विभिन्न स्थानमा निर्णयको स्वागत गर्दै दीप प्रज्वलन एवम् ¥याली निकालिएको छ ।