हेटौंडा/बागमती प्रदेशको स्थायी राजधानी हेटौंडा कायम गरिएकोमा हेटौंडा उपमहानगरपालिकाले त्यसको स्वागत गरेको छ । उपमहानगरको नगर कार्यपालिकाको सोमबार बसेको बैठकले राजधानी कायम गर्न सहयोग गर्ने, मतदान गर्ने सांसदलगायतमा धन्यवाद ज्ञापन गरेको हो ।

प्रदेशको राजधानी हेटौंडा कायम गरिएकोमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेशका सभामुख, सांसदहरु, पार्टी नेतृत्व तहका सबैप्रति आभारी रहेको भन्दै हेटौंडाका मेयर हरिबहादुर महतले प्रदेश संरचना निर्माण गर्न उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाए । स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण, एकीकृत बस्ती स्थापना, कृषि सुपर मार्केट, अटो भिलेज, अन्तर्राष्ट्रिय सभाहल, अपाङ्गता पुनरस्थापना केन्द्र, सेफ हाउस, प्रदेश यातायात निगम, प्रदेश पूर्वाधार निर्माण कम्पनी, राष्ट्रिय परीक्षा बोर्ड, ईन्जिनियरिङ प्रयोगशाला, बासुदेव स्मृति कमर्सियल भ्यूटावर, एकीकृत चार्जिङ स्टेसन, घरेलु तथा औद्योगिक सामाग्रीघर, पर्यटन सूचना केन्द्र निर्माणका लागि हेटौंडामा जग्गा उपलव्ध गराउन लागिएको मेयर महतले बताए ।

प्रदेशका सबै मन्त्रालय, प्रदेशसभा भवन लगायतका संरचना एकै स्थानमा निर्माण गर्नको लागि हेटौंडा–९, लामसुरेमा रहेको हेटौंडा सिमेन्टको जग्गा र हेटौंडा ५ को मत्स्य विकास केन्द्रको जग्गा पहिचान भइसकेको पनि मेयर महतले सुनाए । सबै संरचना निर्माण गर्नका लागि करिब ३० करोड रुपैयाँ बजेट लाग्ने उनले बताए ।