सडक र सडकमा गुड्ने यातायात साधनको वृद्धि र विकाससँगै दुर्घटनाको जोखिम पनि बढिरहेको छ । सडक यातायात दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतना र उपाय अवलम्बन गरिए पनि दुर्घटनाको खबर नसुनेको दिनै हुँदैन । हाम्रो जीवनयात्राको महत्वपूर्ण समय व्यतित हुने सडक र सवारी साधन दुबै सुरÔित छैनन् । सवारी नियम उल्लङ्घन गर्ने काममा सवारीचालक मात्र होइनन्, बटुवासमेत लागि पर्नुले समस्या बढाएको छ । शहरी क्षेत्रको जनघनत्वलाई ध्यानमा राख्दै बजारका विभिन्न ठाउ“मा बनाइएका जेब्राक्रसको प्रयोगमा पनि बेवास्ता गर्दै जहा“सुकैबाट बाटो काट्नु विडम्बना बनेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय र हेटौंडा उपमहानगरपालिकाले हेटौंडा बजारमा सवारी व्यवस्थापनका लागि केही प्रयास सुरु गरेको भए पनि प्रभावकारी कार्यान्वयन भएको पाइँदैन । हालै बागमती प्रदेशको राजधानी घोषित भएको हेटौंडा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन सबै पक्षबाट ट्राफिक नियम पालनामा कडाई गर्नुको विकल्प देखिँदैन । हेटौंडा बजार क्षेत्रमा पछिल्लो समय ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । धेरैवटा राष्ट्रिय राजमार्गसँग जोडिएका कारण हेटौंडाको ट्राफिक व्यवस्थापन दिनप्रतिदिन जटिल बन्दै जाने निश्चित छ । विगतदेखि नै सवारी साधनको भिडभाड हुने गरेको हेटौंडामा ३ नम्बर प्रदेशको अस्थायी राजधानी भएपछि सवारी चाप पनि बढ्दै गएको छ ।

निर्माणाधीन कान्ति लोकपथ, मदन भण्डारी लोकमार्ग (धरान–चतरा–हेटौंडा सडक), काठमाडौं तराई दु्रतमार्गको निर्माण सम्पन्न भएपछि हेटौंडामा सवारी चाप अझै वृद्धि हुने निश्चित छ । बजार क्षेत्रमा बढ्दै गएको सवारी साधनको अनुपातमा मुख्य बजार क्षेत्र भएर जाने राष्ट्रिय राजमार्गहरु विस्तार हुन नसक्दा बजारका सडक साँघुरो भएर सवारी जामको समस्या जटिल बन्ने सम्भावना बढ्दै गएको छ । बजार क्षेत्रमा पैदल यात्रुका सुविधाका लागि निर्माण भएका फुटपाथ सवारी पार्किङ र व्यापार गर्ने ठाउँ बनेको छ । बजार क्षेत्रमा पार्किङ सुविधासहितका भवन नहुँदा र पार्किङ सुविधा भएका सिमित भवनले पनि पार्किङको ठाउँलाई व्यावसायिकरुपमा उपयोग गरिँदिँदा साँघुरा राजमार्गमै सवारी पार्किङ गर्नु परेको छ । ग्रामीण भेगका निरक्षर नागरिक सवारी नियमबारे कम जानकार भए पनि बजार क्षेत्रका शिक्षित र सभ्य नागरिक ट्राफिक नियमबाट अनविज्ञ पक्कै छैनन् । सवारी नियम जान्नैपर्ने र पालना गर्नैपर्ने कानूनी व्यवस्था स्वीकार गरी सवारी चालक अनुमतिपत्र हासिल गरेका चालकलाई सवारी नियम थाहा नहुने कुरै भएन ।

तर, सामान्य सवारी नियमको पालनमा समेत हेलचेक्र्याइ“ गर्ने प्रवृत्तिले नैतिकता, कानून र चेतनाको खिल्ली उडाएको मात्र नभई सवारी दुर्घटना वृद्धिमा पनि मद्दत पुगिरहेको छ ।सवारी नियम पालना गराउन ट्राफिक प्रहरीले सक्रियता देखाउनै पर्छ । सवारी नियमको पालना गर्ने चालक र पालना गराउने ट्राफिक प्रहरीमात्र हो भन्ने मानसिकता सबैले त्याग्नुपर्छ । सवारी नियमको पालनामा पदैलयात्रु तथा आम नागरिकको पनि उत्तिकै भूमिका रहन्छ । सवारी नियम पालना गर्ने, गराउने कार्यमा सरोकारवाला सबै पक्षको समन्वयात्मक प्रयास आवश्यक हुन्छ ।