हेटौंडा/सवारीको चाप बढेसँगै बागमती प्रदेशको राजधानी हेटौंडामा ट्राफिक व्यवस्थापन गर्न प्रहरीलाई समस्या परेको छ । जनसङ्ख्या र सवारी चापको अनुपातमा ट्राफिक प्रहरीको सङ्ख्या न्युन हुँदा ट्राफिक व्यवस्थापनमा कठिनाई भइरहेको छ । प्रदेश राजधानी भएसँगै सेवा प्रवाह पनि बढेका कारण सवारी र भीडभाड बढेको छ । सोही अनुपातमा ट्राफिक प्रहारीको दरबन्दी थप नहुँदा ट्राफिक व्यवस्थापन सम्बन्धी दैनिक सेवा प्रवाहमा ट्राफिक प्रहरीलाई भ्याईनभ्याई भएको छ ।

दरबन्दीको कमीको कारण जिल्लाका ट्राफिक अतिरिक्त समय काम गर्न बाध्य छन् । मकवानपुर जिल्लाभरीमा हाल ३६ जना ट्राफिक प्रहरीको दरबन्दी छ । हेटौंडा प्रदेश राजधानी हुन अगाडिलाई पनि अपुग रहेको प्रहरी दरबन्दीले राजधानीको व्यवस्थापनलाई पनि भ्याउनु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिबिष्णु ढकालले बताए । उनले राजधानी भएपछि हेटौंडामा आउने भिआईपी, संसद भवन, बजार व्यवस्थापनसँगै सवारी चालक अनुमति पत्र (लाईसेन्स) लिने स्थानमा पनि ट्राफिक प्रहरी परिचालन हुनुपरेको बताए । ढकालले सामान्य समयमा भन्दा राजधानी भएपछि हेटौंडामा करिब एक दर्जन प्रहरी बढी परिचालन गर्नुपरेको बताए । ‘भिआईपी आउँदा ५ जना , संसदमा ३ जना र यातायातमा ५ जना गरी एक दर्जन ट्राफिक अधिक खट्ने गरेका छन् ।

हेटौंडा राजधानी भयो, ट्राफिकलाई काम थपियो तर दरबन्दी थपिएन । त्यसैले एउटै ट्राफिकले बिहानदेखि बेलुकासम्म काम गर्नुपर्ने सम्मको अवस्था छ ।’ ढकालले भने । ढकालका अनुसार हाल जिल्लामा प्रहरी निरस्क्षक एक जना, प्रहरी नायब निरीक्षक २ जना, प्रहरी सहायक निरीक्षक ५ जना , प्रहरी हबल्दार ४ जना , प्रहरी जवान २३ जना र कार्यालय सहयोगी १ जना गरी ३६ जनाको दरबन्दी छ । दरबन्दीको १८ जना जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा, ३ जना ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा, ४ जना अस्थायी ट्राफिक प्रहरी पोष्ट रातोमाटेमा, २ जना अस्थायी ट्राफिक प्रहरी पोष्ट फापरबारीमा, २ जना अस्थायी ट्राफिक प्रहरी पोष्ट नेवारपानीमा, अस्थायी ट्राफिक प्रहरी पोष्ट भैँसे, बसपार्क, चौकीटोल, चौघडा, भिमफेदी, सिस्नेरी र पालुङमा १÷१ जना कार्यरत छन् ।

प्रहरी निरीक्षक ढकालले दरबन्दी कम हुँदा २ जना आवश्यक रहेको स्थानमा एक जना र ३ जना आवश्यक स्थानमा २ जना राख्ने गरेको बताए । उनको अनुसार भीमफेदी, भैंसे जस्ता पोष्टमा एकपटकमा २ जना ट्राफिक प्रहरीको आवश्यकता भए पनि एकजनाको मात्रै दरबन्दी रहेको बताए । त्यस्तै हेटौंडाको मुख्य बजार बुद्वचोकमा पनि आवश्यकता अनुसार दरबन्दी नहुँदा सवारी व्यवस्थापनमा कठिनाई भई सवारी जामसमेत हुने गरेको उनको भनाइ छ ।