हेटौंडा/सरकारले ल्याएको सूचना प्रविधिसम्बन्धी विधेयक सच्याउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशभरबाट दबाब दिएको छ । नेपाली काँग्रेसको ७७ वटै जिल्ला शाखामार्फत आइतबार सरकारलाई विरोधपत्र बुझाएको हो ।

केन्द्रीय कार्यक्रमअनुसार नेपाली काँग्रेस मकवानपुरले पनि आइतबार जिल्ला प्रशासन कार्यालय मकवापुरमार्फत विरोधपत्र बुझाएको हो । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाको अगुवाईमा पार्टी कार्यालयबाट जुलुससहित निस्किएको टोलीले प्रशासनमा पुगी विरोधपत्र बुझाएको हो । नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामाले मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई विरोध पत्र बुझाएका हुन् । गत पुस १७ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र संचालनसम्बन्धी विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन् हुने भन्दै विरोध गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार नै जिल्ला प्रशासन कार्यालयमार्फत बिरोध पत्र बुझाइएको कांग्रेस मकवानपुरका सचिव बुद्ध लामाले जानकारी दिए ।संविधान विरोधी र जनतालाई नकारात्मक असर पर्ने बिधेयकहरु अघि बढाउँदा देश राणकालीन अवस्थामा पुग्ने भन्दै कांग्रेसले विरोध जनाएको छ । सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा कसैलाई निरन्तर जिस्क्याए ५ वर्षसम्म जेल वा १५ लाखसम्म जरिमाना वा दुवै सजाय हुन सक्नेसम्म व्यवस्था छ । विशेष सेवा विधेयक भने संसदमा दर्ता मात्र भएको छ, जसमा अदालतको अनुमति नलिई फोन ट्यापिङ गर्नसक्ने लगायतका विवादास्पद प्रावधान छ । विधेयकको विवादास्पद पंक्ति नहटाए काँग्रेसले सशक्त रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।