हेटौंडा ,/ मकवानपुरमा पछिल्लो समय काठको ठेकी लोप हुँदै गएको छ । कुनै समय ठेकी उत्पादनको लागि मकवानपुर चिर्चित थियो । अहिले पनि विभिन्न पुस्तकहरुमा ठेकी उत्पादनको लागि प्रख्यात जिल्लाको रुपमा मकवानपुर नै उल्लेख गरिएको पाइन्छ ।
मकवानपुरलाई चिनाउने काठको ठेकी पछिल्लो समय भने भेटिन मुस्किल पर्छ । ग्रामीण क्षेत्रका पशुपालक किसानले दूध जमाएर दही र मही बनाउन प्रयोग गर्ने गरेका परम्परागत ठेकी अहिले लोप हुने अवस्थामा पुगेको छ । दुुहुना पशु भएका परिवारले दूध जमाउनका साथै मही पार्नका लागि प्रयोग गर्ने परम्परागत ठेकी धातुबाट निर्मित आधुनिक सामग्रीका कारण लोप हुने अवस्थामा पुगेका हुन् । मकवानपुरमा ठेकी दार अथवा देवदारु नामको रूखको काठबाट बनाइने गरिन्थ्यो । त्यसैले मकवानपुरको ठेकीसँगै यहाँको काठ पनि ठेकी उत्पादनको लागि प्रख्यात मानिन्थ्यो । तर अहिले देशभरि काठको ठेकीको लागि प्रख्यात मकवानपुरमा नै ठेकी पाउन छाडेको छ। केही वर्षअघिसम्म विशेष गरि मकवानपुरको सामरी र हर्नामाडीमा काठबाट ठेकी बनाईन्थ्यो। दही जमाउन र मही पार्न प्रयोग हुने ठेकी उत्पादनले गाँउका धेरैले रोजगार पनि पाएका थिए । अहिले ठेकी लोप भएसँगै काठलाई कुदेर विभिन्न सामग्री तयार गर्दै आएका चुदारेहरुको पेशा पनि संकटमा पर्दै गएको छ ।

काठको ठेकी बन्ने दारको रुख समेत पाउन छाडेको र ठेकी खोप्ने मान्छे नहुँदा ठेकी पाउन छाडेको मकवानपुरका ईतिहासका जानकार रामचन्द्र आचार्य फुर्सती बताउँछन् । उनका अनुसार पहिले पहिले मकवानपुरमा बनेको ठेकी दहिको लागि प्रख्यात मानिने भक्तपुर र काठमाडौं लगायतका जिल्लाहरुमा पनि पुग्ने गरेको थियो। तर अहिले मकवानपुर जिल्लामा नै काठको ठेकी नपाउँदा स्थानीय कृषकहरू स्टिलको ठेकीमा दही जमाउन, मही पार्न बाध्य छन्। काठको ठेकीमा दहिको मही पार्न मदानीलाई काठको घुर्रोमा अड्याएर नेती नामको डोरीले दुईतिर तान्दै मदानी घुमाउने गरिन्छ र स्टिलको भाँडामा मदानी विना नै फिरफिरेले पनि मही पार्न सकिन्छ ।
फुर्सतीको अनुसार साजनको काठको ठेकी सबैभन्दा बलियो बन्ने भएपनि मकवानपुरमा दारको काठको ठेकी बढस् उत्पादन हुन्थ्यो र राम्रो पनि मानिन्थ्यो। ती बाहेक कटहर, खवारी र बोट धयेराको पनि ठेकी बनाउने गरिन्छ। उनले स्टिलको भाडामा जमाएको दही भन्दा काठको ठेकीमा जमाएको दही मिठो हुने र धेरै समय सम्म अमिलो नहुने बताए । फुर्सतीले भने ‘ अहिले बजारमा आएका स्टिल र प्लाष्टिकका सामाग्रीमा केमिकल हालिएको हुन्छ। ती भाडामा हालेको दहि , मही तथा अन्य खाद्य पदार्थ मिठो पनि हुदैन र विभिन्न रोग पनि लाग्ने सम्भावना हुन्छ । त्यसैले काठबाट बनेका सामाग्री अहिले बजारमा आएको सामाग्रीको तुलनामा कयौ गुणा राम्रो छ। ’
फुर्सतीले मकवानपुरमा काठबाट ठेकी मात्रै नभई पानी हाल्ने ठेको , घ्यू तेल हाल्न प्रयोग गरिने सिङ्मान र गरियो , अचार तथा महत्वपूर्ण खाद्य सामाग्री हाल्न बटुको आकारको कोसी र चामल , पीठो भर्न प्रयोग हुने मानापाथी , दूध दुहुने फार्म लगायतका सामाग्रीहरु मकवानपुरमा उत्पादन र प्रयोग हुने गरेका थिए । उनको अनुसार ठेकी मात्रै नभई मकवानपुरको चित्लाङलाई मूला, फर्पिङलाई नास्पाती , सामरी र हर्नामाडीलाई ठेकी उत्पादनको क्षेत्रको रुपमा चिनिने गरेको गरेको थियो ।