हेटौंडा/बागमती प्रदेशको सोमबारको प्रदेशसभा बैठकमा सांसदहरुले प्रधानमन्त्रीले तडकभडकपूर्ण जन्मदिन मनाएको भन्दै आलोचना गरेका छन् । मुलुककै सर्वोच्च ओहोदामा रहेका व्यक्तिले जन्मदिनमा हजारौंलाई भोज खुवाउने तथा निकै तडकभडक गरेको भन्दै त्यसले नराम्रो सन्देश छोडेको सांसदहरुको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले आइतबार जन्मघर तेह्रथुममा पुगी नेपालको नक्सा अंकित केक काटेको र चारवटा हेलिकोप्टर चार्टर गरेर तामाझाम देखाएको भन्दै प्रदेश सांसदहरुले प्रधानमन्त्रीले आफ्नै पार्टीले जारी गरेको आचारसंहितासमेत उल्लंघन गरेको आरोप लगाए । ‘जन्मदिवस, पास्नी तथा व्रतबन्धजस्ता संस्कारलाई घरभित्रै सीमित गर्न’ दिएको निर्देशन भुलेर विवादमा तानिएको यती समूहको खर्चमा हेलिकोप्टरमार्फत् केक लगेर प्रधानमन्त्रीले जन्मदिन मनाएको भन्दै सांसदहरुले ओलीको आलोचना गरेका हुन् । प्रदेशसभाको शून्य समयमा बोल्दे विवेकशीलका सांसद रमेश पौडेलले कम्युनिष्ट प्रधानमन्त्रीले ‘पुँजीवादी जन्मदिन’ मनाएको बताए । आफैंले जारी गरेको आचारसंहिता उल्लघंन गर्दै जन्मदिन मनाएकोप्रति व्यङ्ग्य गर्दै भने–‘नेकपाले जारी गरेको आचारसंहितामा जन्मदिन परिवारमा मात्रै सीमित गर्न भनिएको छ, प्रधानमन्त्रीको परिवार पुँजीवादसँग जोडिएको छ । यति होल्डिङ्स उहाँको परिवार हो । त्यसैले यो जन्मउत्सव जायज छ ।’

सांसद विजुला बर्माले प्रधानमन्त्रीले नेपालको अखण्डतालाई नै चुनौती दिने गरी जन्मदिन मनाएको भन्दै सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताइन् । सांसद जीवन डंगोलले प्रधानमन्त्रीको जन्मदिनले गलत सन्देश प्रवाह भएको टिप्पणी गरिन् । ‘महोत्सव जस्तै गरी प्रधानमन्त्रीको जन्मदिन मनाइयो,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले के सन्देश दिन खोजेको हो ?’ सांसद नरोत्तम बैद्यले सर्वहारा र समाजवादी प्रधानमन्त्रीको जन्म दिनले गलत सन्देश दिएको टिप्पणी गरे । यसैबीच सोमबारको प्रदेशसभामा प्रदेशको मन्त्रिपरिषद्मा महिलालाई स्थान दिन आवाजसमेत उठेको छ । मन्त्रिपरिषद् समावेशी नभएको भन्दै सत्तापक्षकै महिला सांसदहरुले सरकारको आलोचना गरे । सांसद सरस्वती बाटीले संविधानले व्यवस्था गरेको समानुपातिक समावेशी प्रावधान प्रदेशले लागू नगरेको भन्दै असन्तुष्टी व्यक्त गरिन् । मन्त्रिपरिष्दमा महिलाहरुको अनिवार्य सहभागिता सुनिश्चित गर्न सरकारसँग माग पनि गरिन् । ‘सरकारले संविधानको मर्मविपरीत काम गरिरहेको छ । महिलाहरुको निर्णायक तहमा सभागिता हुन जरुरी छ ।’ उनले भनिन् । सत्तारुढ सांसद सीता अधिकारीले बागमती प्रदेश सरकारले संविधानकै उल्लघंन गरेको आरोप लगाइन् । उनले बागमती प्रदेशको मन्त्रिपरिषद्मा महिला किन नअटाएको भन्दै प्रश्न गरिन् । नेकपा सांसद इन्द्रमाया गुरुङले संविधानले स्पष्ट व्यवस्था गरेको समानुपातिक, समावेशी सहभागिताको उल्लघंन भएको भन्दै सरकारको ध्यानाकर्षण गरिन् । प्रदेशमा समावेशी सरकार कहिले बन्छ ? भन्दै उनले प्रश्न गरिन् ।

नेकपाकै सांसद शान्ति थिङले मन्त्री मण्डलमा महिला सहभागिता नहुनुको कारणबारे मुख्यमन्त्री डोरमणि पौडलेसँग जवाफ मागिन् । महिला सांसदहरुले आफूहरुको पनि प्रतिनिधित्व मन्त्रिपरिषद्मा हुनुपर्ने आवाज यस अघि पनि उठाएका थिए । यसैबीच प्रदेशसभाको सोमबारको बैठकमा सामाजिक विकास मन्त्रालयले तयार गरेको प्रदेश युवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गरिएको छ । प्रदेशको युवा परिषद् कार्यकर्ता भर्ति केन्द्र बनाउन नहुने सांसदहरुले सुझाव दिए । युवाहरुको समग्र विकासका लागि परिषद्ले काम गर्न सक्नुपर्ने कांग्रेस प्रमुख सचेतक राधा घलेले सचेत गराइन् । ‘यो कार्यकर्ताहरुको भर्ति केन्द्र जस्तो नहोस् । सक्षम युवाहरुले अवसर पाउनुपर्छ । युवाहरुको क्षेत्रमा प्रदेश सरकारले अझै धेरै काम गर्न जरुरी छ ।’ उनले भनिन् । नेकपा सांसद नारायणप्रसाद सिलवालले प्रदेश युवा परिषद् गठन नियुक्तिको लागि मात्रै हुन नहुने भन्दै बौद्धिक बहस गर्ने गरी काम गर्ने संस्थाको विकास हुनु पर्ने सुझाव दिए । यस्तै, सांसद भीमसेन खत्रीले राजनीतिक उद्देश्य भन्दा पनि युवा परिषद्ले सामाजिक र आर्थिक उद्देश्य कायम गर्ने गरी काम गर्नु पर्नेमा जोड दिए ।

प्रदेशसभाको सोमबारको बैठकले लोक सेवा आयोगको संशोधन विधेयक पारित गरेको छ । आइतबार प्रदेश मामिला समितिले छलफल गरी तयार गरेको प्रतिवेदन पेश गरिएको थियो । उक्त प्रतिवेदन सहित सोमबार विधेयक पारित भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको विधेयक पारित भएसँगै आयोगले थप सहज रुपमा काम गर्न सक्ने विश्वास लिइएको छ ।