हेटौंडा/मकवानपुरको बकैया गाउँपालिकामा रहेको गौतम बुद्ध पर्यटन पार्कमा भोलि शुक्रबारदेखि बकैया साहित्य महोत्सव आयोजना हुने भएको छ । दुईदिनसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । झरना साहित्यिक परिवारको आयोजना तथा बकैया गाउँपालिकाको सहकार्यमा बकैयामा पहिलो पटक महोत्सव हुन लागेको हो ।

महोत्सवको प्रचारप्रसार, अतिथि निमन्त्रणाका साथै स्थान व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको झरना साहित्यिक परिवारका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले जानकारी दिए । झरना साहित्यिक परिवार मकवानपुरको २७ औँ वार्षिकोत्सवको अवसर तथा २५० औं साहित्य शृङ्खलाको अवसरमा साहित्यिक महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवको पहिलो दिन छन्द कविता प्रशिक्षण, भित्ते पत्रिका प्रकाशन कार्यशाला आयोजना हुनेछ । यस कार्यक्रममा बकैया गाउँपालिका अन्तर्गतका सम्पूर्ण माध्यमिक तथा आधारभूत विद्यालयका नेपाली विषय शिक्षकहरुलाई सहभागी गराउने लक्ष्य राखिएको उपाध्यक्ष लामिछानेले बताए ।

महोत्सवकै अवसरमा झरनाले साहित्यकार तथा पत्रकार डा. नवराज लम्सालसहित विभिन्न क्षेत्रमा क्रियाशील रही समाजमा योगदान पु¥याउने सात जनालाई मकवानपुरमा सम्मानसमेत गरिनेछ । साहित्यकार तथा पत्रकार डा. नवराज लम्साललाई होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७६ र खडानन्द–मनमाया प्रतिभा सम्मान–२०७६ विनोदविक्रम के.सी.लाई प्रदान गरिने भएको छ । त्यसैगरी, कवि विना थिङ तामाङलाई सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान–२०७६ र साहित्यसेवी मुक्तिगोविन्द वैद्यलाई सञ्जीवनी बुटी साहित्य सेवा सम्मान–२०७६ प्रदान गरिनेछ ।

यसवर्ष झरना बकैया पत्रकार सम्मान मकवानपुरमा लामो समयदेखि क्रियाशील पत्रकार प्रताप विष्टलाई प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०७६ व्यङ्ग्यकार रामचन्द्र आचार्य ‘फुर्सती’लाई प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष दीपक गौतमले जानकारी दिए । महोत्सवमा करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए । झरनाले आगामी चैतको चौथो हप्ता हुने मुक्तक साँझका अवसरमा शिव सावित्री अधिकारी मुक्तक साहित्य सम्मान मुक्तककार उषा शेरचनलाई प्रदान गर्ने निर्णयसमेत गरेको छ ।