हेटौंडा/बागमती प्रदेशले कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि हात नमिलाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्ब्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणबाट बच्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको जनाएपछि प्रदेश सरकारले यसका लागि छुट्टै उपचार कक्ष निर्माण गरिसकेको सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए । नेपालीको परम्परा देखि चलिआएको चलन एबम् हातका कारण कोरोना बढी संक्रमण हुने चिकित्सकको भनाइलाई मध्यनजर गर्दै ‘नो ह्याण्डसेक’ को नीति अवलम्बन गर्न जनसमुदायमा आव्हान गर्ने निर्णय पनि गरेको हो ।
मन्त्रिपरिषदको बैठकले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बुधबार मात्र मिर्गौलाको सफल प्रत्यारोपण भएपछि प्रधानमन्त्री एबम् मिर्गौला दिने समिक्षा संग्रौलाको स्वास्थ्य लाभको कामना गर्दै मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकको टोलीलाई प्रदेश सरकारले धन्यबाद ज्ञापन गरेको छ । प्रदेशका संरचना निर्माणका लागि हेटौंडा सिमेन्ट उद्योगको खाली
रहेको जग्गा उपलब्ध गराईदिन नेपाल सरकारलाई आग्रह गर्ने निर्णय समेत भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले जानकारी दिए ।
प्रदेश सूचनाको हक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने स्विकृत दिने, चालु आर्थिक बर्षको लागि प्रदेश विशेष अनुदान तर्फका थप योजनाहरु स्वीकृत गर्ने निर्णय गरेको छ । साझा यातायात सहकारी संस्था लिमिटेडमा शेयर लगानीको निर्णय समेत खारेज गर्ने निर्णय गरेको छ । यसअघि साझा सहकारी संस्थासंग मिलेर बस सञ्चालन गर्ने भनिएपनि सहमति अनुसार काम नभएकोले सहमति खारेज गरिएको प्रवक्ता मन्त्री ढुंगेलले जानकारी दिए ।