हेटौंडा/हेटौंडामा निशुल्क मास्क वितरण सुरु भएको छ । कोरोना भाइरसको संक्रमण हुनसक्ने खतरालाई मध्येनजर गर्दै मास्कको माग बढेसँगै मास्कको अभाव हुन थालेपछि कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले निःशुल्क मास्क वितरण सुरु गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाको समन्वयमा संघले २५ हजार वटा मास्क निःशुल्क वितरण गर्ने जनाइएको छ । सोमबारबाट मास्क वितरण थालिएको हो। हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडाको बुद्धचोकमा मास्क वितरण कार्यको शुभारम्भ गरेका थिए । मास्क वितरण कार्यक्रममा बोल्दै मेयर महतले हेटौंडा उपमहानगर–पालिकामा काम लिएर आउने सेवाग्राहीले मंगलबारबाट निःशुल्क मास्क प्राप्त गर्ने जानकारी दिए ।
संघका अध्यक्ष तेजराज अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, पोशाक व्यवसायी संघका बरिष्ठ सल्लाहकार अनिल अग्रवाल, उपाध्यक्ष नेत्रप्रसाद खतिवडा, महासचिव जावेद हुसेन, कोषाध्यक्ष जंगबहादुर बस्नेत लगायतको सहभागिता रहेको थियो ।
बजारमा मास्कको अभाव रहेकोले सामाजिक उत्तरदायित्व अन्तरगत मास्क वितरण गरेको बताउँदै संघले जनाएको छ । संघले पहिलो दिन २ हजार मास्क वितरण गरेको थियो भने मंगलबार पनि सोही हाराहारीमा मास्क वितरण भएको जनाएको छ । हेटौंडाका बजारमा आउने सर्वसाधारण, संघसंस्था लगायतलाई मास्क वितरण गरिने बताइएको छ ।