हेटौंडा/छिमेकी मुलुक चीनलगायत विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण देखाउँदै हेटौंडाका व्यवसायीहरुले कृत्रिम अभाव सिर्जना गर्न थालेका छन् । उनीहरुले नुन र चिनी अभाव एको भन्दै उपभोक्तालाई बेच्न छाडेका छन् ।
अधिकांश पसलहरुमा चिनी र नुन नपाएको उपभोक्ताले गुनासो गर्न थालेका छन् । भाइरसको कारण नाका बन्द भएको र चिनी र नुनको आयात नभएको भन्दै व्यापारीहरुले उपभोक्तालाई फर्काउने गरेका छन् । सामानको कृत्रिम अभाव सिर्जना गरी व्यापारीहरु सामानको मूल्य बढाएर कालोबजारी गर्न खाजेको उपभोक्ताहरुको दावी छ । सामान लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने र पछि मूल्य बढाउने प्रपञ्च रचिएको भन्दै उपभोक्ताहरुले आक्रोश पोखेका छन् ।
हेटौंडा बजारका धेरै पसलहरुमा डुल्दा पनि नुन र चिनी पाउन नसकिएको हेटौंडा–११ नवलपुरकी चमेली दानीले गुनासो गरिन् । ‘जून पसलमा पुगेर सोध्दा पनि नुन र चिनी छैन भन्छन् । किन एक्कासी यस्तो भयो भनेर सोध्दा कोरोना भाइरसको कारण सामान नआएको भन्छन् ।’ दानीले भनिन् । ‘भाउ बढाएर उपभोक्ता ठग्नको लागि यस्तो जाल रचिएको हुनसक्छ ।’
सरकारले अत्यावश्यक वस्तुको अभाब हुन नदिने भनेको छ । तर, बजारमा अहिले नुन, चिनी अभाव हुन थालेको व्यापारीहरु नै बताउँछन् । राहुल किराना स्टोरका सञ्चालक रविन्द्र गुप्ताले आफूले सँधै ल्याउने गरेको डिलरमा नै नुन नपाएकाले आफूले उपभोक्तालाई नुन उपलब्ध गराउन नसकिएको बताए । ‘डिलरले नै नुन छैन भन्छ । कहाँबाट ल्याएर बेच्ने, ग्राहकहरु पसलमा आएर भएर पनि नदिएको जस्तो गर्छन् ।’ गुप्ताले भने ।
नुन र चिनी उपलब्ध गराउने साल्ट ट्रेडिङ कर्पोरेशनले भने आफूहरुसँग नुन र चिनीको अभाव नभएको स्पष्ट पारेको छ । आफूहरुले चाहिँदो मात्रामा नुन र चिनी बजारमा पठाइरहेको भन्दै साल्ट ट्रेडिङ हेटौंडाका प्रमुख शैलेन्द्र पाण्डेले व्यापारीहरुले सामान लुकाएर कृत्रिम अभाव सिर्जना
गरेको हुनसक्ने बताए । साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार अहिले १ लाख ५९ हजार टन नुन स्टक रहेको छ । हाल नेपालमा मासिक १६ हजार टन नुन खपत हुँदै आएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले ६ महिनालाई पुग्ने आयोडिन युतm नुन स्टक राख्नुपर्ने सरकारी प्रावधान रहेको छ ।
त्यस्तै चिनी १० हजार टन स्टक रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले दाबी गरेको छ । नेपालमा चिनीको खपत मासिक २० हजार टन र बार्षिक सरदर २ लाख ५० हजार टन हुने गरेको छ । नेपालमा बार्षिक १ लाख ८० हजार टन उत्पादन हुन्छ । त्यसैगरी बार्षिक ७० हजार टन चिनी विदेशबाट आयात हुन्छ । खाद्यान सामाग्रीको ब्यापार गर्दै आएको साल्ट टे«डिङ कर्पोरेशनसँग १० महिनालाई पुग्ने नुन स्टक रहेको साल्ट टे«डिङ
कर्पोरेशन शाखा हेटौंडाको प्रमुख शैलेन्द्र पाण्डेले बताए ।
बजारमा कृत्रिम अभाव सिर्जना भएको पाइए अनुगमनबाट कारबाही गरिने साल्ट ट्रेडिङ हेटौंडाका प्रमुख पाण्डेले चेतावनी दिए । अहिलेको परिस्थितिमा बजारमा नुन चिनी लगायतका खाद्य सामाग्रीको अभाव नभएको उनले स्पष्ट पारे ।
उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष बासु अधिकारीले बजारमा नुन र चिनीको अभाव भएको गुनासो आफूले पनि सुनेको भन्दै प्रशासनसँग समन्वय गरी बजार अनुगमन गरिने बताए । ‘व्यापारीले चिनी र नुन अभाव भएको भन्दै उपभोक्तालाई फर्काउने गरेको छ भन्ने मैले पनि सुनेको
छु । किन यसो भइरहेछ भन्नेबारे प्रशासनसँग बुझ्छु । साँच्चै अभाव हो या कृत्रिम अभाव हो भन्ने कुरा अनुगमनपछि थाहा हुन्छ ।’ खतिवडाले भने ।