हेटौंडा/मनहरी गाउँपालिकामा दादुरा रुबेलाको खोप अभियान आज चैत्र १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने भएको छ ।मनहरी गाउँपालिकामा सरोकारवालाबीच पालिकास्तरीय समन्वय बैठकले ९ वटै वडामा दादुरा रुबेलाको खोप अभियान सञ्चालनका लागि केन्द्रहरुको व्यवस्थापन लगायतका बिषयमा छलफल भएको छ । छलफल कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य प्रमुख टिकाराम अधिकारी र स्वास्थ्यकर्मी निर्मला ब्लोनले दादुरा रुबेलाको खोपको महत्वबारे जानकारी गराए ।महिनाभन्दा माथि र ५ बर्षभन्दा मुनिका सबै बालबालिकालाई अनिबार्य रुपमा अभियान अन्तर्गत खोप लगाउनुपर्ने उनले बताए । नियमित रुपमा खोप लिइरहेका बालबालिकाका लागि पनि पूरक खोपको रुपमा दादुरा रुबेलाको खोप लगाउनुपर्ने जानकारी दिए । बैठकलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले शतप्रतिशत नतिजा हासिल हुने गरी काम गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए । बैठकमा उपाध्यक्ष मनिला बिष्ट, कार्यपालिका सदस्यहरु ध्रुव खड्का, ठाकुरराम तितुङ, पम्फा रोक्का, राधादेवी खकु¥याल लगायतको सहभागिता रहेको थियो ।बैठकले हरेक वडामा वडास्तरीय समन्वय समिति बनाउने र अभियानको ब्यापक प्रचारप्रसार गर्ने निर्णय गरेको छ । बैठकले दादुरा रुबेला खोपबारे जानकारी दिनका लागि स्वास्थ्यकर्मी निर्मला ब्लोनलाई प्रबक्ता तोकेको छ । मनहरीका ९ वटै वडामा गरी ४ हजार २ सय ८० जना बालबालिकालाई दादुरा रुबेलाको खोप लगाउने तयारी भएको स्वास्थ्य प्रमुख अधिकारीले जानकारी दिए ।
यसैबीच मनहरी गाउँपालिका वडा नं ८ मा वडास्तरीय समन्वय समिति गठन भएको छ । वडाध्यक्ष दिलबहादुर स्याङ्तानको अध्यक्षतामा समिति बनेको हो । ८ नम्बर वडामा देवकोटस्थित श्री प्राथमिक विद्यालय र वडा कार्यालयलाई खोप केन्द्र तोकिएको छ । बैठकमा स्वास्थ्यकर्मीहरु ज्योतिराज लुईंटेल र रामचन्द्र दाहालले सहजीकरण गरेका थिए ।