हेटौंडा/कोरोना भाइरसबारे सचेतना जगाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाका विभिन्न स्थानमा हेल्प डेस्कको स्थापना गरेको छ ।
ईलाका प्रहरी कार्यालयहरुको समन्वयमा शनिबारबाट हेल्प डेस्क सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रहरी कार्यालयको समन्वयमा हेटौंडा बसपार्कमा, ईलाका प्रहरी कार्यालय पशुपति नगरको समन्वयमा हेटौंडा–८ र ९ मा, मनहरीको समन्वयमा मनहरी बजारमा, ईलाका प्रहरी कार्यालय पालुङको समन्वयमा पालुङमा, हेल्प डेस्क राखिएको छ । यस्तै ईलाका प्रहरी कार्यालय फापरबारीको समन्वयमा फापरबारीमा, ईलाका प्रहरी कार्यालय ठिंगनको समन्वयमा ठिंगनमा र ईलाका प्रहरी कार्यालय पदमपोखरीको समन्वयमा पदमपोखरी बजारमा हेल्प डेस्क स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।
आवश्यक प्रचारप्रसार तथा सचेतनाका कार्यक्रम सञ्चालन गर्न स्थानीय तहससँगको समन्वयमा प्रहरीले स्वास्थ्यकर्मीसहितको हेल्प डेस्क सञ्चालन गरिएको हो । एक व्यक्ति वा समुदाय मात्र कोरोनाबारे सचेत भएर नपुग्ने भन्दै घरघरमा व्यक्तिव्यक्तिमा सचेतना फैल्याउन हेल्प डेस्क सञ्चालनमा ल्याइएको प्रहरी उपरीक्षक राठौरले बताए । जिल्लाका अन्य स्थानमा समेत हेल्प डेस्क स्थापना गरिने उनले बताए ।