हेटौंडा/मकवानपुरको बकैया गाउँपालिकाले एक हजार पाँच सय वटा पशुधन बिमाको लागि अनुदान उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाभित्र रहेका ७ करोड २० लाख बराबरको पशुधनको सुरक्षणका लागि गाउँपालिकाले सोमबार बिमा कम्पनीसँग सहमति गरेको छ । गाउँपालिकाले पशु बिमामाका लागि प्रुडेन्सियल ईन्स्योरेन्स कं. लि सहितका ३ वटा बीमा कम्पनीसँग सहकार्यको प्रस्तावमा हस्ताक्षर गरेको छ । सहकार्य अनुरुप गाउँपालिकाले किसानले भुक्तानी गर्नुपर्ने बिमा शुल्कको ९० प्रतिशत रकम बहन गर्नेछ ।
कृषि बिमाका लागि संघीय सरकारले ७५ प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था छ । यसरी किसानको तर्फबाट भुक्तानी गर्नुपर्ने बाँकी २५ प्रतिशतले हुने रकममा सो को ९० प्रतिशतले हुन आउने रकम गाउँपालिकाले भुक्तानी गर्नेछ । बाँकी १० प्रतिशत र किसानको २ लाखको दूर्घटना बिमा बापतको एक सय रुपैयाँ मात्र कृषकले भुक्तानी गर्नुपर्नेछ । किसानले थप एकसय रुपैयाँ तिरेर आफ्ना लागि २ लाख बराबरको दूर्घटना बिमाको सुविधा प्राप्त गर्न सक्नेछन् । गाउँपालिकाले पशु बिमाका लागि अध्यक्ष दामोदर खनालको संयोेजकत्वमा एक बिमा समिति गठन गरेको थियो । समितिले सूचीकरणको प्रक्रियाबाट प्रुडेन्सियल ईन्स्योरेन्स कं. सहित युनाइटेड इन्स्योरेन्स र अजोड ईन्स्योरेन्स कं. लाई छनौट गरी समझदारी पत्रमा हस्ताक्षर गरेको छ । समझदारी अनुरुप प्रचलित बिमा ऐन अनुरुप बिमा कम्पनीहरुले पशुधनको बिमा सुविधा उपलब्ध गराउने छन् । समझदारी भए पश्चात बिमा कम्पनीहरुको तर्फबाट १५ जना अभिकर्ताले पशुधनका बिमा गर्न÷
गराउन गाऊँपालिकामा आफ्ना सेवा प्रवाह गरेको प्रुडेन्सियल ईन्स्योरेन्स कं. लि. का शाखा प्रबन्धक अर्जुन सुवेदीले जानकारी दिए । पशुधनको बिमासँगै झण्डै एक हजारजना पशुधनी कृषकको २ लाख रुपैयाँको दरले दूर्घटना बिमा समेत गरिने प्रबन्धक सुवेदीले जानकारी दिए ।