हेटौंडा/काठमाडौंबाट बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने कान्तिलोकपथ निर्माणमा सम्पन्न गर्न सर्वपक्षीय चासो व्यक्त भएको छ ।
हेटौंडालाई काठमाडौं जोड्ने वैकल्पिक मार्गहरुमध्ये सबैभन्दा पुरानो मार्गको रुपमा रहेको कान्तिलोकपथ समयमै निर्माण नसकिएकोमा तीनै तहका सरकारले चासो राखेका छन् ।
सडक निर्माणको क्रममा गत वर्षको वर्षामा आएको बाढी पहिरोका कारण धेरै क्षति भएपछि सडक निर्माणको काम लम्बिएको छ । सडकको फराकिलो पार्ने काम अधिकांश ठाउँमा सकिएको र अधिकांश ठाउँमा कालोपत्रे पनि भइसकेको अवस्थामा जोखिमयुक्त क्षेत्रमा काम भइरहेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ सहितको टोलीले कान्तिलोकपथ निर्माण चाँडै सम्पन्न गर्नेबारे छलफल गरेको थियो । संघीय मन्त्रालय, बागमती प्रदेश सरकार र प्रतिनिधि सभाका सांसदहरुलेसमेत काम चाँडो सक्याउनेबारे पहल थालेका छन् ।
मन्त्रालयमा भएको छलफलमा मकवानपुर क्षेत्र नम्बर १ का सांसद तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँललगायतले लोकपथ निर्माण चाँडो सक्नेबारे आफ्नो राय प्रस्तुत गरेका थिए ।
छलफलपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी एक वर्षभित्र कान्तिलोकपथको काम सम्पन्न गर्ने गरी सबै पक्ष एकजुट हुन निर्देशन दिए । करिब ६ दशकअघिदेखि निर्माण सुरु भएको कान्तिलोकपथ अझै सम्पन्न नहुनु दुखद भएको भन्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले चाँडो काम सक्न ठेकेदारलाई निर्देशन दिइने बताए । भौगर्भिक रुपमा ठूलो समस्या आएमा एलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने तथा आइपरेका समस्या समाधान गरेर चाँडो काम सक्नुपर्ने उनले बताए । तोकिएको तालिका अनुसार समयमै काम सक्न ठेकेदारलाई निर्देशन दिने उनले बताए । स्थलगत अनुगमनका क्रममा लोकपथको ७९ किमीमध्ये करिब चार किमिमा भौगोलिक अवस्थाका कारण अप्ठ्यारो देखिएको बताए । सडकको लागि संघीय सरकारले थप बजेटको व्यवस्था गर्नुपर्नेसमेत उनले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले कान्तिलोकपथ पूर्ण भएपछि हेटौंडा–काठमाडौं छोटो मार्गको विकल्प तयार हुने बताए । आयोजना कार्यालयका प्रमुख गनेन्द्र झाले लोकमार्गमा अहिले कतै पनि ठेक्का तोड्नुपर्ने गरी समस्या नभएको बताए । भालुखोलामा रहेको ढुंगा खानीका कारण लोकमार्गमा पहिरोको जोखिम रहेको उनले बताए। सडकको अधिकार क्षेत्रमा रहेका घरहरुको अधिग्रहणका लागि प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए ।