बहुचर्चित राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई–मधेश दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणले गति लिने भएको छ । वि.सं २०७४ जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढको सुरु विन्दुमा शिलान्यास गरेपछि निर्माण अघि बढेको दु्रतमार्गको नयाँ डीपीआर निर्माण र स्वीकृतिमा ढिलाई हुँदा निर्माणले गति लिन सकेको थिएन । लामो समयदेखि चर्चामा रहे पनि निर्माण मोडालिटीमा देखिएको विवादले अन्यौल बनिरहेको द्रुतमार्ग निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएपछि यसले निश्चितता पाएको थियो । निर्माण सुरु भएको चार वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी सेनाले जिम्मा पाएको भए पनि
प्रारम्भीक काममै अलमल भएपछि वि.सं २०८० सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नेपाली सेनाले कोरियन कम्पनीमार्फत् तयार पारेको द्रुतमार्गको डीपीआर सरकारले स्वीकृत गरेपछि दु्रतमार्गका जटिल संरचना निर्माणका लागि ठेक्का आह्वान भएको छ ।
ललितपुरको खोकनाबाट मकवानपुरको ठिंगन हुँदै बागमती नदीको किनाराबाट सिमात र बकैया खोला भएर बाराको निजगढमा पूर्वपश्चिम राजमार्गमा द्रुतमार्ग जोडिनेछ । सुरुमा ७६ किलोमिटर हुने भनिएको दु्रतमार्गमा सुरुङको संख्या वृद्धि गरेपछि ७२.५ किमि हुने भएको छ । द्रुतमार्गमा ६.४१ किलोमिटर सुरुङ र १०.५९ किलोमिटर पुल बनाइनेछ । महादेवडाँडा, धेद्रे र लेनडाँडामा गरी तीनवटा सुरुङ निर्माण हुनेछन् । महादेवडाँडामा ३.३५, धेद्रेमा १.६३ र लेनडाँडा १.४३ किलोमिटर सुरुङ निर्माणका लागि अन्तर्राष्ट्रिय ठेक्का आह्वान गरिएको छ । दु्रतमार्गमा पुलमात्रै ८७ वटा रहनेछन् । अहिलेसम्म निर्माण भएका सडकमा खोलामा मात्र पुल निर्माण गरिएकोमा यो द्रुतमार्गमा एउटा डाँडा र अर्को डाँडालाई पनि पुलले नै जोड्ने गरी १६ वटा विशेष प्रकारका पुल निर्माण हुनेछन् । ती विशेष प्रकारका पुल निर्माणका लागि पनि अन्तर्राष्ट्रिय कम्पनीलाई जिम्मा दिने सेनाको योजना छ । अहिले नेपाली सेना र स्वदेशी निर्माण कम्पनीमार्फत् दु्रतमार्गका लागि डाँडा÷ढिस्को काट्ने, खाल्डा पुर्ने, सम्याउने, माटो भर्ने, टेवा पर्खाल लगाउने, साना कल्भर्ट बनाउनेलगायतका आधारभूत काम भइरहेका छन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण हुने दु्रतमार्गका लागि अहिले अन्तर्राष्ट्रिय परामर्शदाता छनौटको काम पनि चलिरहेको छ । ५ वटा परामर्शदातालाई पूर्वयोग्यतामा राखेर मूल्यांकन भइरहेको र आगामी वैशाख अन्त्यसम्म परामर्शदाता छनौट हुने सेनाले जनाएको छ । परामर्शदाता छनौटसँगै सुरुङ निर्माणको ठेक्काको निर्णय हुने र आगामी आर्थिक वर्षबाट द्रुतमार्गमा पर्ने पुल, सुरुङ र सडकको काम सुरु हुनेछ ।
दु्रतमार्ग निर्माण सम्पन्न भएपछि हाल प्रयोग भइरहेको सडक दुरी उल्लेख्य घटाउनेमात्र नभई ठूलो परिमाणमा इन्धन र सवारी पार्टपूर्जा खपत घटाउनेछ । दु्रतमार्गले राजधानी काठमाडौंलाई छोटो दुरी
र कम समयमा तराईसँग जोड्नेमात्र नभई, राजधानीको जनघनत्व कम गर्ने तथा निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलसँगको सहज पहुँचलाई पनि सहयोग गर्ने देखिन्छ । नेपाली सेनाले निर्माण जिम्मा लिएका कारण द्रुतमार्ग निर्माणमा अनावश्यक ढिलासुस्ती र राजनीतिक प्रभाव कम हुने हुँदा समयमै सम्पन्न हुने आशा गर्न सकिन्छ ।