हेटौंडा/बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको विकास खर्च गर्न नसकेको भन्दै सांसदहरुले चर्को आलोचना गरेका छन् ।
मंगलबारको प्रदेशसभाको विशेष समयमा बोल्ने सांसदहरुले सरकारले असारे विकास गरी बजेट मात्र सक्याउने प्रपञ्च गरेको बताए । सार्वजनिक लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठले सरकारले आफैंले गरेको प्रतिबद्धता भुलेको आरोप लगाए । ‘सरकारले अहिलेसम्म १५ प्रतिशत मात्रै खर्च गरेको छ तर बजेट पास गर्ने बेलामा बैशाखदेखि बजेट परिचालन नगर्ने प्रतिवद्धता पनि जनाएको छ,’ उनले भने, ‘अब चैत महिना भरी ८५ प्रतिशत खर्च हुन्छ ? सरकारले खर्च क्षमतामा नै प्रश्न उठेको छ ।’ उनले अवण्डामा रहेको रकम आफ्नो कार्यकर्ताहरुलाई विना शीर्षक नै बाूडेको आरोप समेत लगाए । अवण्डा कोषको बजेट रकमान्तर समेत भइरहेको भन्दै उनले बजेट परिचालन र निर्माणमा जनप्रतिनिधिहरुको भूमिका कमजोर बनाउने काम सरकारले गरिरहेको आरोप लगाए। उनले अब बन्ने बजेटमा सुरुदेखि नै सहभागिता सुनिश्चित हुनु पर्ने माग गरे ।
यस्तै, सत्तापक्षका सांसद प्रदीप कुमार कटुवालले सरकारले खर्च गर्न नसकेको भन्दै यसको अध्ययन हुनु पर्ने बताए । ‘सरकारले काम गर्ने गति बढाउनु पर्छ,’ उनले भने,‘प्रदेश सरकारले गठन गरेको नीति तथा योजना आयोगको प्रभावकारिता पनि देखिएको छैन । योजना आयोगले मनलाग्दी ढंगले योजनाहरु बनाइरहेको छ । जनप्रतिनिधिहरुको यसमा पनि सहभागिता हुनु पर्छ ।’ सांसद रिता माझीले सरकारले विनियोजन गरेको बजेट शीर्षकअनुसार खर्च गर्नु पर्नेमा जोड दिइन् । उनले आवश्यकताका आधारमा बजेट निर्माण र परिचालन गर्न सुझाव दिूदै पहुूचको आधारमा हुने बजेट विनियोजन बन्द गर्नु पर्ने बताइन् ।
कोरोनाको चिन्ता
प्रदेश सभाको मंगलबारको बैठकमा सांसदहरुले कोरोना भइरसको संक्रमणको विषयमा चिन्ता व्यक्त गरेका छन् । कोरोनाको विश्वव्यापी संक्रमण बढ्दो अवस्थामा रहेको भन्दै सांसदहरुले नेपालमा भित्रिन नदिन प्रदेश सरकारले पनि आफ्नो तर्फबाट काम गर्नु पर्ने सुझाव दिएका छन् ।
सत्तारुढ सांसद राजेन्द्र पाण्डेले प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरी काम गर्नु पर्ने सुझाव दिए । ‘प्रदेश सरकारले सचेतनाको क्षेत्रमा काम गरेको छैन,’ उनले भने, ‘अहिले कोरोना भाइरसको विषयमा जनता आतंकित भइरहेको अवस्था छ । प्रत्येक जनतासम्म पुग्ने गरी सचेतना कार्यक्रम प्रदेश सरकारले लागु गर्नु पर्छ ।’ कोरोना परीक्षण गर्ने ल्याब र अस्पतालको तत्काल व्यवस्थापन प्रदेश सरकार आफैंले गर्नु पर्ने उनले सुझाव दिए ।
यस्तै, सांसद न्हुच्छेनारायण श्रेष्ठले कोरोनाको प्रभाव रोक्न सरकारले गरेको तयारी प्रति असन्तुष्टि जनाए । ‘सरकारले जसरी तयारी गरिरहेको छ, त्यो पर्याप्त छैन,’ उनले भने,‘यो महामारीको समयमा सरकारले आम जनतालाई सुरक्षित बनाउन काम गर्नु पर्छ । यो प्रदेशसभाको बैठक पनि केही समयका लागि स्थगित हुनु पर्छ ।’ सांसद विराज भक्त श्रेष्ठले कोरोना भइरसको संक्रमणको विषयमा आम जनतालाई सुसुचित गराउने काममा सरकार लाग्नु पर्ने सुझाव दिए । उनले पर्यटन क्षेत्र यसबाट अहिले नै निकै प्रभावत भइसकेको भन्दै यसमा आर्थिक सहुलियत दिन प्रदेश सरकारसँग माग गरे । सांसद रिता माझीले कोरोनाको संक्रमण विश्वव्यापी हुँदै गर्दा नेपालमा कालोबजारीको संक्रमण भित्रिएको बताइन् । उनले अहिले बजारमा उपभोग्य वस्तुहरुको अभाव हुन थालेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी काम गर्नु पर्ने बताइन् । सांसद निमा लामाले सरकारले नै त्रास फैलाउने काम गरेको भन्दै सरकारको तयारी प्रति असन्तुष्टि जनाए । उनले पर्यटन क्षेत्रमा यसको प्रभाव धेरै रहेको भन्दै सरकारले आर्थिक सहुलियत दिनु पर्नेमा जोड दिए ।