हेटौंडा, ५ चैत / माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा स्थगित भएको छ । सरकारले आज चैत्र ६ गते बिहीबारदेखि हुन लागेको एसईई परीक्षा स्थगित गरेको हो ।परीक्षाको तयारी गरेका विद्यार्थीहरुले अब सरकारले अर्को सूचना जारी नगरेसम्म एसईईको परीक्षा दिन पाउने छैनन् । ४ लाख ८२ हजार परीक्षार्थी सहभागी हुने एसईईमा प्रदेश अनुसार फरक–फरक प्रश्नपत्र छापिएको थियो । एसईईमा बागमती प्रदेशबाट सबैभन्दा धेरै विद्यार्थी सहभागी हुँदै थिए । विश्वलाई आक्रान्त बनाइरहेको नोभेल कोरोना (कोभिड १९) भाइरसको संक्रमण फैलने खतरालाई रोकथाम तथा नियन्त्रणका लागि एसईई स्थगित गरिएको सरकारले जनाएको छ । एसईई परीक्षाका लागि देशभर १९९५ केन्द्र तोकिएको थियो ।
एसईई परीक्षामा मकवानपुरबाट ६ हजार २ सय १८ विद्यार्थी सहभागी हुँदै थिए । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अनुसार परीक्षामा २ हजार ९ सय ३२ छात्र र ३ हजार २ सय ८६ छात्रा सोमल हुँदै थिए । सरकारले अर्को निर्णय नगरेसम्मको लागि जिल्लाका ६ हजार २ सय १८ विद्यार्थीको एसईई परीक्षा यात्रा रोकिएको छ । जिल्लामा ९३ सामुदायिक ३९ संस्थागत विद्यालय गरी कुल १ सय ३२ माध्यमिक विद्यालय छन् । जिल्लामा हेटौंडाभित्र १४, थाहा नगरमा ३, गाउँपालिकाभित्र मनहरीमा २, बकैयामा २, बागमतीमा १, भिमफेदीमा १ र इन्द्रसरोवरमा १ गरी कुल २४ वटा परीक्षा केन्द्र तोकिएको थियो । हेटौंडाका १४ वटा परीक्षा केन्द्रबाट ४ हजार ५७ विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।
समितिका अनुसार एसईई परीक्षा आज बिहीबारबाट सुरु भएर प्राविधिक तर्फ १७ गते र साधारणको १४ गते सकिने जनाइएको छ । प्राविधिक विद्यालयकातर्फबाट १ सय ४६ विद्यार्थीले एसईई परीक्षा दिँदै थिए । यसैगरी जिल्लाभित्र ग्रेड वृद्धि
परीक्षा ४५ जना विद्यार्थीले दिने भएका छन् भने गे्रड वृद्धि परीक्षा केन्द्र अमर माध्यमिक विद्यालयमा रहेको छ । कोरोना भाइरस संक्रमणबाट विद्यार्थीहरुलाई सुरक्षित राख्न स्वास्थ्य मन्त्रालयको समन्वयमा आवश्यकता अनुसार मास्कको व्यवस्था पनि गरिएको शिक्षा समन्वय इकाईले जानकारी दिएको छ ।
शिक्षा समन्वय इकाई मकवानपुरका प्रमुख लिलानाथ गौतमले सरकारले एसईई परीक्षा स्थगित गरेको आधिकारिक जानकारी नआएकोले बिहीवार बिहानमात्रै थाहा हुने जानकारी दिए । उनले गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार साँझ एसईई परीक्षा स्थगित गरिएको जानकारी गराएपनि शिक्षा मन्त्रालयले शिक्षा समन्वयमा कुनै जानकारी नदिएको बताए । उनका अनुसार शिक्षा समन्वय इकाईले बिहीबार बिहान आपत्तकालीन बैठक बोलाएको छ । यसैबीच मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाले आजबाट सुरु हुने कक्षा ८ र सबै निजी विद्यालयका परिक्षाहरु स्थगित गरेको छ ।