अहिले विश्व नै कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण चिन्तित बनेको छ । नेपाललाई पनि विश्व स्वास्थ्य संगठनलदे कोरोना भाइरस संक्रमणको उच्च जोखिमयुक्त देशमा समावेश गरेपछि यसबारे चिन्ता भइरहेको छ । तर, अहिलेसम्म नेपालमा कोरोना संक्रमणको कुनै विरामी नभएको सरकारले बताइरहेको भए पनि आम सर्वसाधारणमा भने चिन्ता र चासो व्यापक देखिएको छ । नेपालमा प्रभावकारी परीक्षण नभएर यसको संक्रमण नदेखिएको कतिपयको आशंका छ । कोरोना संक्रमण हुन नदिन सरकारले जनचेतना जगाउने काम गरिरहेको छ । कोरोना संक्रमण भइहालेमा त्यसको व्यवस्थापनका केही तयारीसमेत भइरहेको भए पनि यसप्रति धेरै विश्वस्त बन्न सकेको पाइँदैन । बागमती प्रदेशको प्रदेशसभा बैठकमा पनि कोरोना संक्रमणको चिन्ता व्यक्त गरिएको छ । मंगलबारको प्रदेशसभा बैठकमा सांसदहरुले विश्वव्यापी बनिरहेको कोरोना भाइरसलाई नेपालमा भित्रिन नदिन प्रदेश सरकारले प्रभावकारी काम गर्नुपर्ने सुझाव दिएका छन् । छिमेकी देश चीनको वुहानबाट अढाई महिनाअघि सुरु भएको कोरोना भाइरस एसियाका विभिन्न देश हुँदै अहिले युरोप, अमेरिका र अष्ट्रेलिया पुगेको छ । अफ्रिका महादेशका केही देशहरुमा पनि यसको संक्रमण देखिइसकेको छ । हालसम्म विश्वका करिब एक सय ६० देशमा यो भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसबाट हालसम्म झण्डै दुई लाख मानिस संक्रमित बनेको र ८ हजारभन्दा बढीको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । कोरोनाको उद्गमस्थल चीनमा मात्रै ८० हजारभन्दा बढी संक्रमित भएकामा ३ हजार बढीको मृत्यु भएको थियो । चीनमा कोरोना संक्रमण कम हुँदै जाँदा यसको संक्रमण विश्वका अन्य देशमा भयाबह बनिरहेको छ । चीनपछि दक्षिण कोरिया र इरानमा यसको संक्रमण बढी फैलिएकोमा अहिले इटाली, स्पेन आदि युरोपियन देश र अमेरिका, बेलायत, अष्ट्रेलियामा संक्रमण बढ्दै गएको छ । पछिल्लो समयमा यस भाइरसको कारण एक दिनमै मर्नेको संख्या ८ सय नाघेको छ । कोरोना भाइरस संक्रमणको कारण विश्व अर्थतन्त्रमा ठूलो क्षति पुगिरहेको अवस्थामा त्यसको असर नेपालमा पनि देखिइएको छ । नेपालमा कोरोना संक्रमणको उच्च सम्भावना भए पनि हालसम्म संक्रमण नदेखिनु खुशीको कुरा भए पनि यसबारे सबै सचेत र सतर्क हुन आवश्यक छ ।
पछिल्लो समय कोरोना संक्रमणको सम्भावनालाई गम्भीररुपमा लिएर आवश्यक तयारी गर्न सरकारलाई धेरै दबाव परिरहेको छ । कोरोना संक्रमणको डरले आम नागरिक आतंकित बनिरहेको भन्दै बागमती प्रदेशसभामा सांसदहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराउनु स्वभाविक हो । नेपालमा साँच्चै कोरोना संक्रमण फेलियो भने त्यसबाट पर्ने असर निकै व्यापक हुने निश्चित छ । युरोप, अमेरिकालगायत विकसित देशहरु कोरोना भाइरसबाट आक्रान्त बनिरहेको अवस्थामा नेपालमा त्यसले पार्ने प्रभाव कल्पना गर्न सकिँदैन । अनावश्यक मानिसको जमघट नगर्ने, सकेसम्म घरभित्रै बस्ने, व्यक्तिगत सरसफाईमा ध्यान दिने, खानपानमा विशेष सतर्कता अपनाउने र संक्रमणको शंका लागेमा स्वास्थ संस्थामा जानेतर्फ सबै सचेत र जानकार हुनु आवश्यक छ ।