प्रत्येक पल, क्षण, दिन, महिना तथा वर्ष विभिन्न कारणले महत्वपूर्ण बन्दछन् । कुनै समय महत्व तथा गम्भीरताको दृष्टिले उच्च डिग्री देखिन्छ वा पाइन्छ भने कुनै समय कम महत्व तथा कम गम्भीरता हुन्छ नै । समान महत्वको सबै समय त बन्दैन पनि । विश्वभर नै यतिबेला कोरोना भाइरस (कोभिड–१९) ले व्यापक चर्चा पाएको छ । संसारका एक सय ६० भन्दा बढी मुलुकका लाखौं मानिसमा यो संक्रमण भएको पुष्टि भएको छ । आठ हजारभन्दा बढीको ज्यान यो भाइरसले लिइसकेको छ । धेरैजसो बैठक, सभा, भेला तथा भिडभाड हुने कार्यक्रम स्थगित भएका छन् । कैयौं मुलुकमा शिक्षण संस्थाहरु, सिनेमा घर, खेलकुदका प्रतियोगिता बन्द गरिएका समाचार बाहिर आएका छन् । यस सन्दर्भमा यो आलेख कोरोना भाइसकै
सेरोफेरोमा केन्द्रित रहेको छ ।

१. नेपाल सरकारले कोरोना भाइरसको प्रकोपबारे गम्भीरता देखाएको छ । सजगता र सतर्कताको सन्देश प्रवाह गरेको छ । सावधानीका उपायसागै हस्पिटलमा भिन्न आइसोलेसन वार्डको व्यवस्था गरिएको भनिएको छ । इसईई परीक्षा केन्द्रमा हेल्प डेस्क अनिवार्य भनिएको छ । यी सबै भए गरेका काम कुराहरु पर्याप्त भएनन् भन्ने आवाज पनि व्यापक छ । बजारमा मास्कसमेतको कालोबजारी भएको छ । अन्य उपभोग्य वस्तुहरु ग्यासलगायतका चिजहरु कृत्रिम अभाव सृजना गरेर व्यापारीहरु नागरिक लुट्न सक्रिय रहेको खबर व्यापक छ । सरकारले कालोबजारीलाई नियन्त्रण गर्न नसकेको स्थिति छ । आवश्यक मास्क, इन्धन, मेडिसिनहरु उपलब्ध छैन । अस्पताल, हेल्थपोष्टहरुमा आवश्यक तयारी देखिएन । संक्रमित पुष्टि नभएर होला । एकजना पनि कोरोना भाइरसको कारणले मरेको पुष्टि नभएर होला, सरकार पनि पर्याप्त गम्भीर
छैन । नागरिक समाज पनि आवश्यक पूर्वतयारीमा देखिँदैन । अवस्था राम्रो पक्कै छैन । जे भनिएको छ, त्यो पनि गरिएको पटक्कै छैन । महामारीको घोषणा भएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारी र विभिन्न देशको संक्रमित अवस्था, रोकथामबारे आह्वान गरेको छ । यो अवस्था सामान्य पटक्कै होइन । संसार अहिले कोरोनाको आतंकअन्तर्गत् लडिरहेको छ । नेपालमा फैलिएको छैन । तर, संक्रमण देखिएमा यो भयावह बन्ने अनुमान धेरैले गरेका छन् ।

२. एसईई हाल स्थगित गर्नुपर्ने आवाज पनि उठेको हो । शिक्षण संस्थाहरु बन्द गर्न नेपालमा पनि आह्वान भइसकेको छ । संक्रमित कोही नभएको अवस्थामा तयारी भएको पूर्वनिर्धारित एसईई परीक्षा नरोकौं । लगभग पाँच लाख
परीक्षार्थीहरु यो परीक्षामा सहभागी भइरहेका
छन् । झण्डै दुई हजार वटा परीक्षा केन्द्रबाट यही चैत ६ गते विहान ८ः०० बजेबाट यो परीक्षा प्रारम्भ भइरहेको छ । परीक्षा केन्द्रमा आवश्यक सावधानी अपनाइएको छ । मास्क, स्यानिटाइजरलगायत केही औषधिसहित हेल्प डेस्क राखिएको छ । परीक्षार्थीहरु मानसिकरुपले जाँच दिन तयार छन् । परीक्षाको जनशक्ति सहितको आवश्यक सामग्री सम्बन्धित स्थानमा पुगिसकेका छन् । यो बेलामा परीक्षा रोक्ने होइन, सावधानीका बीच सञ्चालन गर्दा राम्रो हुन्छ अर्काथरि मानिसहरु एसईई स्थगन गरेर थप त्रास फैलाउन कम्मर कसेर लागेको पनि पाइयो । यो बेला स्वभाविक रुपले गम्भीर त बन्नैपर्छ । तर, आवश्यकता भन्दा बढि अतिशयोक्ति गरेर विद्यार्थीको मनोविज्ञानमा खेलवाड गर्नु राम्रो होइन । हामी कुनै पनि परीक्षा केन्द्रमा अप्रियताको कल्पना पनि गर्दैनौं । परीक्षाको मर्यादा, स्वच्छता तथा अनुशासन सँगै चर्चित महामारी कोरोना भाइरसको प्रकोपशून्य हुनेमा विश्वस्त छौं । प्रत्येक परीक्षार्थी ढुक्क भएर निर्वाधरुपले परीक्षामा सहभागी बनुन् । आफ्नो उच्च शिक्षाको खुट्किलो एक तह वृद्धि गर्न सक्षम होउन् भन्ने हामी चाहन्छौं । हिजोको एसएलसी फलामे ढोका आजको एसईई हुँदै होइन । आजको एसईई त माध्यमिक तहको पहिलो स्टेप हो । दोस्रो महत्पवूर्ण स्टेप भनेको कक्षा १२ को अन्तमा लिइने परीक्षा हो । अर्कोतर्फ लेटर ग्रेडिङ पद्दतिले कुनै पनि विद्यार्थी फेल हुँदैन । ग्रेडमा कोही पछाडि परे पनि फेरि लगत्तै सोही विषयको ग्रेड वृद्धि गर्ने मौका परीक्षा छँदैछ । तसर्थ कतिपयले भन्ने गरेको एसएलसी र एसईई कदापि उस्तै हुँदै होइन । कोही पनि भ्रममा नपरे हुन्छ । प्रत्येक विद्यार्थीले आफूले उच्च आत्मबल कायम गरेर माथिल्लो ग्रेड हासिल गरुन् । हामी एसईईका परीक्षार्थीको अपेक्षित सफलताको कामना गर्दछौं ।आजका विद्यार्थी भोलिका राष्ट्रका कर्णधार भएकाले यिनीहरुको मनोविज्ञानमा नकारात्मकता आउनै हुँदैन । यस्ता तथ्यमा जिम्मेवार वर्ग हामी सचेत बन्नैपर्छ । भ्रम छर्ने, कमजोर बनाउने काम कहिँ कतैबाट हुनु हुँदैन । परीक्षा केन्द्रमा पटक्कै भिडभाड जरुरी छैन । कसैलाई अस्थस्थ भेटिएमा तत्काल उपचारको तयारीमा हरेक केन्द्र रहनुपर्छ । स्थानीय तहको जिम्मेवारीपन र स्वास्थ्य संस्थाको जिम्मेवारी यो मसयमा थप महत्वपूर्ण बनेको स्पष्ट छ । तत्काल पर्न सक्ने सबै प्रकारका अनिष्ट र समस्याप्रति पूर्ण सवधानीमा रहनैपर्छ। प्राकृतिक विपत्तिप्रतिको सजगता र सतर्कता हाम्रो अभियान नै बन्नुपर्छ । यस्ता विषयमा सरकारी पक्ष र उसका संयन्त्र थप क्रियाशील त बन्नैपर्छ । सँगै नागरिक समाजको आफ्नो भूमिका बहन गर्नैपर्छ । एकअर्कामा दोषारोपण गरेर उम्किने प्रयत्न कसैले पनि गर्नु हुँदैन ।

३. विद्यालय समयको चर्चा कोरोना भाइरससँग सिधा जोडिएको भने होइन । काठमाडौंको ट्राफिक जामको समस्यासँग यो गाँसिएको छ । अफिस समय र विद्यालय समय एकैपटक भएकाले थप जटिलता उत्पन्न भएको हो । संस्थागत विद्यालयको दर्जनौं स्कूल बसहरु विहान ८ः०० बजेदेखि नै सडकमा आउने हुँदा विद्यार्थीले स्कूल जाँदा र आउँदा चार घण्टा बसमा मात्र समय बिताउने चर्चाले यो साता व्यापकता पाएको छ । विद्यालय समयलाई सारेर विहान ९ः०० बजेदेखि ३ः०० बजेसम्म गर्ने हो कि भन्ने चर्चा उठेसँगै यसो गरिनु हुन्न, बरु विद्यालय समय यथावत राखेर अफिस समय सार्नुपर्छ, स–साना बालबालिकालाई थप पीडा दिनु हुँदैन भन्ने आवाज तत्कालै उठेको छ । हामी पनि स्कूल समय सार्ने पक्षमा छैनौं । निश्चय पनि बालबालिकाको समय फेरबदल भन्दा अफिस समयलाई थोरै तलमाथि गर्न सकिन्छ । विद्यार्थीको बसबाट लामो यात्रा गरेर एउटै स्कूलका दर्जनभन्दा बढी बस सडकमा लाने भनेको सेवा क्षेत्रको अवधारणामा अटेर गरेको भन्ने बुझिन्छ । यो व्यक्तिको स्वतन्त्रतासँग पनि जोडिएको विषय हुनसक्छ । राम्रो स्कूलको नाममा घण्टौंसम्म बसको यात्रामा विद्यार्थीको समय खेर गइरहेकोतर्फ गम्भीरता देखिएन । यसै प्रसंगमा हप्तामा दुईदिन विदा गरेर पाँच दिनलाई नौ बजेदेखि पाँच बजेसम्म सञ्चालन गर्ने हो भने काम गर्ने समय कमी होइन, बरु बढ्छ । सँगै वातावरणीय तथा इन्धन एवम् मेशिन खपतको दृष्टिकोणले यो बढी फलदायी
बन्नसक्छ । कार्यालय तथा स्कूल समय एकैपटक नपार्नेगरी सञ्चालन गर्न सकिन्छ । हाम्रो अवस्थाले त्यही देखाएको छ । त्यसैगरी विदा बारेमा पनि हप्तामा दुई दिन विदा दिने राष्ट्रहरुबाट हामीले सिक्ने आधारहरु धेरै हुन सक्छन् । यो पनि अब बहसको विषय बन्न ढिला भइसकेको छ ।

४. कक्षा १२ सम्म विद्यालय शिक्षा संविधानतः स्वीकार गरिउको छ । हाल कक्षा ११ र १२ विहानी सिफ्टमा र अन्य कक्षाहरु दिउँसोको समयमा सञ्चालन भइरहेका छन् । एकाधलाई छाडेर यो अवस्था राष्ट्रव्यापी नै छ । उता कक्षा ११ को पाठ्यक्रम आउने सत्रबाट फेरिने लगभग निश्चित छ । कक्षा १० सम्मको शैक्षिक सत्र बैशाखबाट सुरु हुने, चैत्रमा सकिने हालको अवधि रहेको छ । कक्षा ११ र १२ को शैक्षिक सत्र साउनबाट सुरु हुने र वैशाखमा सकिने विद्यमान स्थिति हो । अब तत्कालीन उच्च माध्यमिक तहका कक्षाहरु दिउँसो नै अन्य कक्षाहरुसँग मिलान गर्नुपर्ने देखिन्छ त्यस्तै कक्षा ११ र १२ को शैक्षिक सत्र समेतलाई सारेर विद्यालयको अन्य कक्षासँगै मिलान गर्नुपर्ने देखिन्छ । किटानीसाथ यी कक्षाहरुको शैक्षिक सत्र तोक्न विलम्ब भएको छ । कक्षा सञ्चालन समय, शैक्षिक सत्रजस्ता गम्भीर विषयमा संघीय शिक्षा मन्त्रालयबाट नै किटानी निर्णय आउन जरुरी छ । विशेष
परिस्थितिमा सञ्चालन हुने समय र विद्यालय नगन्य हुन्छन् र छन् पनि । भर्ना गर्ने अवधि, मापदण्डका सवाल, कक्षा सञ्चाल, परीक्षा तालिकाजस्ता कुराहरुमा अन्यौलता आउनु हुँदैन । स्पष्ट नीति निर्णय समयमा प्रवाह हुनुपर्छ । आफूखुशी अर्थात् मनोमानी ढंगबाट शैक्षिक सत्र सुरु गर्ने जस्तो अहिले काठमाडौंलगायत धेरै शहरमा फागुन महिनामै नयाँ भर्नाको काम हुन्छ, यो बेथिति नै हो । त्यस्तै प्रयोगात्मक परीषा सञ्चालनको अवधि, मापदण्डजस्ता सबाल औपचारिकतामा सिमित बनेका छन्, जुन हाम्रो शिक्षा व्यवस्थाका ऐँजेरु नै हुन् ।

५. परीक्षापश्चात् एक महिना शैक्षिक संस्था बन्द गर्ने कुरा बाहिर आएको छ । कतै तीन हप्ता विदा भन्ने उल्लेख छ । यस्तो विदाको सबालमा स्पष्टता हुनु जरुरी छ । नयाँ वर्षको बैशाख १० गते वा १५ गतेबाट कक्षा सञ्चालन गर्नुपर्ने भन्ने सूचना हुनुपर्छ । अन्यौलमा विदामात्र भनेर पुग्दैन । फेरि विदा भन्ने, कतिपय स्कूल कलेज भने भित्रभित्रै सञ्चालन हुने हो भने त्यो पनि राम्रो होइन । नीति, विधि र कानून एउटै हुनुपर्छ । अनुगमनको संयन्त्र कमजोर बन्नु हुँदैन । यस्ता कुरामा लचिलो बन्दा समग्र प्रणाली नै कमजोर बन्ने हुनाले यो मितिदेखि शिक्षण संस्था सबै बन्द नै हुनुपर्ने भन्नैपर्छ । नीति निर्देशनको पालना गर्ने गराउने अभिभारा राज्य र यसका संयन्त्रको नै हो । यसमा दुईमत छैन । हामी शिक्षाका प्रत्येक विषयको स्पष्टता र स्वच्छता सँगै वैज्ञानिकता चाहन्छौं । कुरामा सिमित रहेर होइन, व्यवहारमा गरेर देखाउन जरुरी हुन्छ । विदा, परीक्षा, शैक्षिक सत्रको अवधि, शिक्षण सिकाईको समय, सेवा क्षेत्रलगायतका विषयमा स्पष्टता र किटानी नीति विधिले सञ्चालन हुनुपर्नेमा सरोकारवालाको अपेक्षालाई जिम्मेवार तहका व्यक्ति, संस्थाले अन्यथा लिनु हुँदैन भन्नेमा विश्वस्त छौं ।