हेटौंडा/कुखुरा पालन किसानहरुले जिउँदो कुखुराको मूल्य घटाएका छन् । भारतीय कुखुराको मूल्य घटेसँगै त्यसको प्रभाव मकवानपुरमा पनि परेको हो । जिउँदो कुखुरा १ सय ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेकोमा आज बिहीबारदेखि लागू हुने गरी मकवानपुर कुखुरा व्यवसायी संघले प्रतिकिलो १ सय २५ रुपैयाँमा बिक्री सुरु गरेको छ ।
संघका अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा बुधबार बसेको बैठकले भारतीय कुखुरा सस्तो हुँदै आएकाले नेपाली किसानले उत्पादन गरेको कुखुराले पनि मूल्यमा प्रतिष्पर्धा गर्नुपर्ने भन्दै मूल्य घटाउने निर्णय गरेको हो । कुखुराको लागत मूल्य प्रतिकिलो १ सय ८० रुपैयाँ पर्ने गरेको भन्दै नेपाली किसानले घाटा सहेर अन्तर्राष्टिूय बजारअनुरुप प्रतिष्पर्धा गर्नुपरेको अध्यक्ष अधिकारीले बताए ।
जिउँदो कुखुराको मूल्य निरन्तर ओरालो लागिरहे पनि उपभोक्ता मूल्य भने नघटाइएको प्रति कुखुरा उत्पादक किसानहरुले आश्चार्य व्यक्त गरेका छन् । १ सय २५ रुपैयाँ प्रतिकिलो जिउँदो कुखुरा बिक्री गर्दा उचित नाफा राखेर तयारी मासु बिक्री गर्दा बढीमा २ सय १० रुपैयाँ पर्ने संघको दावी छ ।
‘बजारसँग प्रतिष्पर्धा गर्न हामीले कुखुराको मूल्य घटाइरहेका छौं । यसो गर्दा किसानहरु त मारमा परेकै छन् तर, मूल्य सस्तो हुँदा उपभोक्ताले पनि सस्तोमा मासु खान पाउनुपर्छ । तर, बिचौलियाका कारण यस्तो अवस्था बन्न सकेको छैन ।’ संघका अध्यक्ष राजु अधिकारीले भने ‘किसान र उपभोक्ता दुवै मारमा छन्, बीचको व्यापारीहरु भने मोटाइरहेका छन् । यस्तो अवस्थाको अन्त्य गरिनुपर्छ।’
अहिले कुखुराको मासु ३३० प्रतिकिलोदेखि ३८० रुपैयाँसम्म बिक्री भइरहेको छ । पोल्ट्री व्यवसायी नवराज लुइटेलले बजारलाई नै नियन्त्रणमा लिएर केही बिचौलियाहरुले कालोबजारी गरिरहेको भन्दै त्यसलाई प्रशासनले नियन्त्रण गर्नुपर्ने बताए । अर्का कुखुरा पालक किसान लिलानाथ न्यौपानेले विभिन्न बाधा अड्चनका बीच कुखुरापालक किसानहरु गुज्रिरहेको गुनासो गरे । किसानले कहिलै पनि राम्रो मूल्य नपाएको र उपभोक्ता मूल्य पनि नघटेको उनले’ बताए।
हामीले सस्तोमा बेचेअनुसार उपभोक्ताले पनि सस्तोमा खान पाए भने त हामीलाई पनि सन्तुष्ट हुन्थ्यो । मूल्य कम भएपछि बढी खपत पनि हुन्थ्यो । नियमनकारी निकाय चुप बस्दा हामी किसान र उपभोक्ता दुवै ठगियौं ।’ अर्का कुखुरा व्यवसायी मधुसुदन मैनालीले भने ।
मकवानपुरमा हाल एक हजार दुईसय कुखुरापालन फार्म सञ्चालनमा छन् । जसमा करिब ३ अर्बको लगानी
रहेको कुखुरा व्यवसायी संघको भनाइ छ ।