हेटौंडा/भीमफेदी क्षेत्रीय कारागार विगत ६ वर्षदेखि स्वास्थ्यकर्मी बिहीन छ । यतिका वर्षसम्म पनि सरकारले भीमफेदी कारगारमा स्वास्थ्यकर्मी पठाउन सकेको छैन् ।
कारागारमा २ जना अहेबको दरबन्दी छ । तर, दरबन्दी कागजमै सीमित बनेको छ । कारागारमा स्वास्थ्यकर्मी नहुँदा धेरै सास्ती भोग्नु परेको कारागार प्रमुख प्रकाश खनालले बताए । उनले कर्मचारी समायोजन भएको ४ महिना बितिसक्दा पनि कारागारमा कर्मचारी हाजिर हुन नआएको भन्दै दुखेसेको राखेका छन् ।
‘कर्मचारी समायोजन भएर २ जना अहेब आउनु पर्ने हो । तर, उहाँहरु हेटौंडा तिरै हुनुहुन्छ । प्रक्रिया नपुगेको कारण
कारागार आउन नसकेको जानकारी आएको छ ।’– प्रमुख खनालले भने । स्वास्थ्यकर्मी नहुँदा बिरामी भएका कैदीबन्दीलाई सामान्य उपचारको लाग पनि काठमाडौं पठाउन परेको उनले बताए ।
स्वास्थ्यकर्मी नहुँदा कारागारमा अहिले छट्पटी चलेको छ । कारागार प्रशासनदेखि स्वास्थ्यकर्मी, कैदीबन्दीलाई विश्वमा फैलिरहेको नोभेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको त्रासले छट्पटी भएको हो । ‘स्वास्थ्यकर्मी नै छैनन् । कैदीबन्दी बिरामी भए कस्लाई र कसरी जचाउने । सम्बन्धित निकायले स्वास्थ्यकर्मी पठाउन तदारुकता नदेखाए समस्या आउन सक्छ ।’ कारागार प्रमुख खनालले भने ।
‘कैदीबन्दीहरु बिरामी भएर ढल्छन्, गम्भिर बिरामी पनि हुने गर्छन् । बिरामी भए उपचार गराउनको लागि स्वास्थ्यकर्मी नै छैनन् ।’ खनालले भने,–‘प्रमुख जिल्ला अधिकारीलाई यसअघि धेरै पटक भने, स्वास्थ्य मन्त्रालयसम्म पनि कुरा पु¥याएको छु । तर, कतैबाट संबोधन हुन सकेको छैन् । कारागार प्रमुख खनालले कैदीबन्दीको स्वास्थ्य समस्यामा कारागार प्रशासन गम्भिर भएर लागेको बताए ।
कारागार प्रशासन स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीबाटै स्वास्थ्य परीक्षण गराउने तयारीमा पुगेको छ । स्वास्थ्य क्षेत्रमा अध्ययन गरेका २ जना कैदीबन्दीलाई आवश्यक परेको खण्डमा स्वास्थ्य परीक्षण गराउने तयारीमा पुगेको कारागार प्रमुख खनालले जानकारी दिए । उनका अनुसार कारागार प्रशासनले कैदीबन्दीहरुको शरीरको तापक्रम जाँच्न थर्मल गर्न ल्याएको छ ।
शरिरको तापक्रम जाँचेर कोरोना भाइरसको संक्रमण थाहा पाउने हुँदा थर्मल गन प्रयोग हुन्छ । यो थर्मल गन चलाउनको निम्ति कारागारमा स्वास्थ्यकर्मी नुहँदा कारागार प्रशासन अलमलमा परेको खनालले बताए । उनले २ जना कैदीबन्दीले थर्मल गनसँगै अन्य स्वास्थ्य सेवा जानेको कारण उनीहरुबाटै अन्य कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण गराउन लागिएको बताए ।
स्वास्थ्यकर्मी नुहँदा हालसम्म कारागारले ४५ जना कैदीबन्दीलाई स्वास्थ्य उपचारको लागि काठमाडौं पठाएको खनालले बताए । कारागारमा ९ सय ६१ जना कैदीबन्दी छन् । कारागारमा दुईवटा ब्लक छ । ‘क ब्लकमा ५’ सय १७ जना, ‘ख ब्लकमा ४ सय ४५ जना कैदीबन्दी छन् । भीमफेदी कारागारमा महिला कैदीबन्दी भने छैनन् । हरेक कैदीबन्दीलाई व्यवस्थित सयन कक्ष रहेको कारागार प्रमुख खनालले बताए ।
मौसमी फ्लु र कोरोना भाइरसको संक्रमणबाट बच्न कारागारले उच्च सतर्कता पनि अपनाएको छ । कारागारको मुख्य गेटमै सूचना टाँसेर साबुन पानीले हात धोएरमात्रै कारागार भित्र प्रवेश गर्न आग्रह गर्नुका साथै अनिवार्य मास्क लगाउने पर्ने नियम पनि छ । कारागारमा रहेका कैदीबन्दी, कर्मचारी, सुरक्षाकर्मी लगायतलाई कोरोनाको संक्रमण हुनबाट रोक्न कारागार प्रशासनले यस्तो सावधानी अप्नाएको हो ।
कारागारले जारी गरेको सूचनामा कारागारभित्र प्रवेश गर्न अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, तयारी खानेकुराहरु (खाना, मासु,
तरकारी) भित्र प्रवेश गराउन नपाइने र कैदीबन्दीसँग दुरी कायम गरी भेटघाट गर्नुपर्ने नियम राखेको छ । कारागारले यसअघि हप्ताको ६ दिन कैदीबन्दीसँग भेट गर्न दिन्थ्यो भने अब ३ दिनमात्रै भेट गर्न पाउने नियम बनाएको छ ।
प्रशासनले हप्ताको आइतबार, मंगलबार र शुक्रबारमात्रै भेटघाट गर्न पाउने जनाएको छ । कारागार प्रशासनले १ महिनादेखि यस्तो नियम बनाएको हो । कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि यस्तो नियम बनाइएको कारागार प्रमुख प्रकाश खनालले बताए । कारागार प्रशासनले १ महिना अघि नै कैदीबन्दी, कर्मचारी र सुरक्षाकर्मीलाई मास्क वितरण गरेको छ । कारागारभित्र हात मिलाउन निषेध गर्दै नमस्कार गर्ने संस्कार बसाइएको छ ।