झण्डै अढाई महिनादेखि कोरोना भाइरसको संक्रमणले औद्योगिक कच्चापदार्थको आयात प्रभावित हुँदा उत्पादनमा असर परेको छ । भाइरसको संक्रमणको त्रासले विकास निर्माणका कामहरु रोकिँदा औद्योगिक वस्तुको बजार मागमा पनि कमी आएको छ । कच्चापदार्थ र बजार माग दुबैमा कमी हुँदा उद्योगहरुले उत्पादन कटौती गर्नुपर्ने अवस्था सृजना भएको छ । हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था नदेखिएको हुँदा औद्योगिक उत्पादन रोक्नुपर्ने अवस्था बनेको छैन । सरकारले धेरै मानिस जमघट हुने व्यावसायिक तथा सार्वजनिक क्षेत्रहरु बन्द गराउन निर्देशन दिए पनि उद्योग प्रतिष्ठान बन्द गर्न आग्रह गरेको छैन । तर, विदेशबाट कच्चा पदार्थ आयात गर्ने कतिपय उद्योगहरु भने कच्चा पदार्थको अभावमा बन्द गर्नुपर्ने अवस्था आउनसक्ने सम्भावना देखिएको छ ।
चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ । चीनबाट मात्र नभएर पछिल्लो समय भारत, मलेसिया, दुबईलगायत देशबाट कच्चापदार्थ आयात रोकिएको
छ । आयातमा आएको रुकावटसँगै बजारमा उत्पादित बस्तुको माग घटेपछि हेटौंडा औद्योगिक क्षेत्रमा स्थापना भएको रंग र प्लाष्टिकजन्य वस्तु उत्पादन गर्ने उद्योगहरुले उत्पादन कटौती गरेका छन् । एक सय ११ वटा उद्योगहरु सञ्चालनमा रहेको हेटौंडा औद्योगिक क्षेत्रमा प्लाष्टिकजन्य वस्तु उत्पादन गर्ने उद्योगमात्र २७ वटा छन्। विभिन्न प्रकारका रंग उत्पादन गर्ने बहुराष्ट्रियसमेत ५ वटा उद्योग सञ्चालनमा छन् भने एउटा सञ्चालनको तयारीमा छ । कच्चापदार्थको कमी र बजार माग घट्दै गएपछि १७ वटा प्लाष्टिक र ५ वटा रंग उद्योगले आफ्नो उत्पादन कटौती गरिरहेका छन् । कतिपय उद्योगले एक महिनादेखि उत्पादन कटौती गर्दै आएको बताएका छन् । कच्चापदार्थको आयात घट्नुसँगै उत्पादित वस्तुको माग पनि आधाजसो कम भएपछि उद्योगहरुले पनि आधा उत्पादन कटौती गरिरहेका छन् । यही अवस्था अझ केही दिन कायम रहेमा पूरै उत्पादन रोकेर उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउनेप्रति उद्योगीहरु चिन्तित बनेका छन् । चैत महिनाभर उत्पादन कटौती गर्ने र अवस्था अझै प्रतिकूल बने त्यसपछि उद्योग नै बन्द गर्ने मनस्थितिमा उद्योगीहरु देखिन्छन् । कच्चापदार्थको आयात सहज भई बजार माग यथावत नरहेमा उद्योगीहरुले ठूलो घाटा बेहोर्नुपर्ने सम्भावना पनि बढाएको छ । कच्चा पदार्थ आयात र बजारीकरणमा प्रभाव परेका उद्योगहरुलाई विशेष राहत दिनुपर्ने उद्योगीले माग गर्न थालेका छन्। कम्तिमा पनि सरकारले बैंक व्याजमा सहुलियत र किस्ता तिर्ने म्याद थप गर्नुपर्ने उद्योगीको माग छ ।
कोरोना भाइरस संक्रमणले नेपालमा मात्र नभई विश्व अर्थतन्त्रमा ठूलो क्षति पुगिरहेको छ । नेपालमा कोरोना संक्रमण नदेखिँदा नै अर्थतन्त्रमा नकारात्मक असर पर्ने अनुमान भइरहेको छ । नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहेको र सरकारले पनि सम्भावित कोरोना संक्रमण रोक्न विभिन्न प्रयास गरिरहेको हुँदा उद्योगी, व्यवसायीको समस्यामा पनि चासो दिनु आवश्यक छ । साथै, अत्यावश्यक वस्तुको उत्पादन तथा आयात रोकिन नदिन सरकार बेलैमा गम्भीर हुनु आवश्यक छ ।