हेटौंडा/बागमती प्रदेशको मुकाम हेटौंडामा चैत २९ गतेदेखि गर्न लागिएको ‘स्थानीय तह तेस्रो शहीद स्मृति मकवानपुर गोल्डकप–२०७६ स्थगित गरिएको छ ।
आयोजक जिल्ला फुटबल संघ मकवानपुरले बिहीवार हेटौंडामा आकस्मिक बैठक राखी अर्को सूचना जारी नभएसम्मको लागि गोल्डकप स्थगित गर्ने निर्णय गरेको हो । संघको चैत ८ गते गर्ने भनिएको साधारणसाभा पनि स्थगित भएको छ । मकवानपुर गोल्डकप स्थगित गरिएको यो दोस्रो पटक हो । यसअघि फागुन २९ गतेदेखि चैत्त ८ गतेसम्म गर्नुपर्ने गोल्डकप संघले फागुनभित्रै जिल्लामा दुईवटा राष्ट्रियस्तरका फुटबल प्रतियोगिता गर्न नसक्ने जनाउँदै चैत २९ गते गर्ने निर्णय गरेको थियो ।
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघले खेलकुद, सभा, सम्मेलनलगायतका कार्यक्रम स्थगित गर्ने निर्णय बमोजिम मकवानपुर गोल्डकप पनि अनिश्चितकालको लागि स्थगित गरिएको संघका अध्यक्ष टिका राम लामाले बताए ।
सरकारले कोरोना भइरसको संक्रमणलाई मध्यनजर गर्दै सभा, सम्मेलन, सार्वजनिक कार्यक्रम तथा भीडभाड हुने खालका सबै प्रकारका कार्यक्रम नगर्न निर्देशन दिएपछि विगत १ महिना अघिदेखि नै मकवानपुर गोल्डकप आयोजनामा अन्यौलता देखिएको थियो ।
कोरोना भाइरसको संक्रमण विश्वभर धेरै फैलिएको र नेपालमा पनि संक्रमणको अवस्था खतरायुक्त भएपछि संघले गोल्डकप स्थगित गरेको हो ।
आयोजक संघले गोल्डकप हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा गराउन मैदान मर्मतसम्भारको काम अगाडि बढाएको थियो । मकवानपुरका १० वटै स्थानीय तहको आर्थिक सहयोगमा मकवानपुर गोल्डकप हुँदैछ । यसअघि भुगर्भ सिमेन्ट हेटौंडा गोल्डकप भएको थियो भने यसवर्ष स्थानीय तह मकवानपुर गोल्डकप हुन लागेको हो । गोल्डकपको लागि मकवानपुरका १० वटै स्थानीय तहलाई संघले गोल्डकपको बारे पत्र मार्फत जानकारी गराइसकेको छ ।