हेटौंडा/हेटौंडा उपमहानगरपालिका (हेउमनपा)ले नगरभित्र सञ्चालित सबै शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको छ । बिहीबार हेटौंडा उपमहानगरपालिका नगर प्रमुखस्तरीय सरोकारवालाहरुको बैठकले शैक्षिक प्रतिष्ठानहरु बन्द गर्न निर्देशन दिएको हो ।बैठकले विश्वभर फैलिएको नोभेल कोरोना भाइरस (कोभिड(१९)को संक्रमणबाट बच्न नगरभित्रका बालविकास केन्द्र, शैक्षिक संस्था, विद्यालय, ट्युशन(कोचिङ सेन्टर, शैक्षिक परामर्श, सामुदायिक सिकाई केन्द्रलगायत सबै शैक्षिक प्रतिष्ठानहरु चैत मसान्तसम्म बन्द गर्न निर्देशन दिएको हो ।
हटौंडा उपमहानगरपालिकाले अभिभावकलाई आफ्ना बालबालिकाहरुको स्वास्थ्यको ख्याल गर्दै श्रृजनात्मक गतिविधिमा सहभागी गराउन अनुरोध गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गते गरेको सूचनाका आधारमा नगरका शैक्षिक प्रतिष्ठानहरु बन्द गर्न निर्देशन दिइएको शिक्षा विकास महाशाखा प्रमुख पूर्णबहादुर अछामीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।
यसैगरी संस्थागत विद्यालयहरुको छाता संगठन नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मकवानपुरले पनि जिल्लाका सबै संस्थागत विद्यालयहरुको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । प्याब्सन मातहत रहेका सबै नीजि विद्यालयहरुको पठनपाठन बन्द गर्ने निर्णय
गरेको हो ।
प्याब्सन मकवानपुरको बिहीवार बसेको आकस्मिक बैठकले सरकारको निर्णयलाई समर्थन गर्दै विद्यालयको पठनपाठनसँगै विद्यालयहरुमा जारी चालू शैक्षिक सत्रको अन्तिम परीक्षा पनि स्थगित भएको जनाएको छ ।
जिल्लाको सबैभन्दा ठूलो क्याम्पस मकवानपुर क्याम्पसले पनि पठनपाठन बन्द गरेको छ । हेटौंडा स्कुल अफ म्यानेजमेन्टले पनि शुक्रबारदेखि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । जिल्लाका अन्य सामुदायिक क्याम्पसहरु पनि बन्द भएका छन्