हेटौंडा,/चीनको बुहान उद्गमस्थल रहेको नोभेल कोरोना भाइरस (कोभिड–१९) विश्वमा व्यापक रुपले फैलिरहेको छ । नेपालमा यसको संक्रमण नदेखिए पनि त्रासदी बढेको छ । सरकारले पनि सतर्कताका उपायहरु अपनाइरहेको छ ।
नेपालको छिमेकी देश भारतमा पनि दैनिकरुपमा कोरोनाका संक्रमितको संख्या बढिरहेको छ । तर, हालसम्म नेपाल–भारतको खुला सिमाना बन्द गरिएको छैन । जसको कारण भारतीय मुख्य नाका बीरगञ्जबाट नजिकै रहेको बागमती प्रदेशको राजधानी हेटौंडा पनि कोरोना भाइरसकको संक्रमण फैलन सक्ने भन्दै त्रास बढिरहेको छ ।
कोरोना भाइरसको संक्रमण नेपालका १ व्यक्तिमा देखिए पनि हालसम्म संक्रमित नभेटिएको सरकारले बताउँदै आएको छ । नेपालमा पनि कोरोना संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सरकारले मुलुक लगभग ‘लक डाउन’ गरिसकेको अवस्था छ ।
नेपालका सबै शैक्षिक संघसंस्था, मठमन्दिर, सार्वजनिक कार्यक्रम, सिनेमा हल, डान्सबार, दोहोरी साँझ बन्द गर्न सरकारले निर्देशन दिइसकेको छ । कोरोना संक्रमणबाट बच्नको लागि सावधानी अपनाउन बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल अध्यक्ष रहेको प्रदेश विपद् व्यवस्थापन उच्चस्तरीय समितिले पनि बिहीबार प्रदेशभित्र लागू हुने गरी २४ वटा निर्णय गरेको छ ।
बागमती प्रदेश सरकारले कोरोनाको संक्रमण हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यसैसन्दर्भमा कोरोनाबाट प्रदेशको मुकाम हेटौंडाको पनि सुरक्षात्मक अवस्थाका बारेमा छलफल गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले कोरोनाबाट हेटौंडाको सुरक्षाको अवस्थाका बारेमा प्रदेश सरकार गम्भीर भएको बताएका छन् ।
छिमेकी मुलुक भारतमा कोरोना फैलिएपछि नेपाल–भारतको प्रमुख नाका बीरगञ्जबाट नजिक रहेको हेटौंडा कोरोनाबाट कति असुरक्षित छ ? भन्ने सन्दर्भमा प्रदेश सरकारले ध्यान दिइराखेको मन्त्री जम्कट्टेल बताउँछन् । छिमेकी भारतसँग खुला सीमाना रहेको कारण पनि कोरोना संक्रमित भारतीयहरु हेटौंडा प्रवेश गर्दा यहाँ असुरक्षित हुन्छ की भन्नु स्वभाविक भएको उनको तर्क छ ।
मन्त्री जमकट्टेलले आमनागरिकलाई हेटौंडा सुरक्षित राख्न प्रदेश सरकारले गम्भीर तरिकाबाट काम गरिरहेको स्पष्ट पार्छन् । उनले बीरगञ्ज नाकाबाट नेपाल प्रवेश गर्ने भारतीयहरुमाथि नियमित स्वास्थ्य परीक्षण गर्न प्रदेश २ सरकारसँग सहकार्य भइरहेको बताए । ‘हेटौंडाको विषयमा चिन्ता बढ्नु स्वभाविक हो । प्रदेश सरकारले यस विषयमा गम्भिर भएर लागिरहेको छ । २ नं. प्रदेश सरकारसँग हामी नियमित सहकार्यमा छौं । बीरगञ्ज नाकामा कडाईका साथ भारतीयहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।’– मन्त्री जम्कट्टेललेसाझाकुरासँगको कुराकानीमा भने । बीरगञ्ज नाकामा रहेको हेल्थ डेस्कले अत्याधिक तापक्रम देखिएका भारतीयहरुलाई नेपाल प्रवेश गर्न रोक लगाएको मन्त्री जम्कट्टेलको भनाई छ ।
कोरोना संक्रमणको लक्षण देखिएका नेपालमै रहेका भारतीयहरुलाई पनि हेटौंडामा कडाईका साथ स्वास्थ्य परीक्षण गरिने उनको भनाइ छ । हेटौंडा बसपार्कमा सुरक्षा निकायहरुले हेल्प डेस्क स्थापना गर्दै शनिबारदेखि नियमित स्वास्थ्य परीक्षण गर्ने जमकट्टेलले जानकारी दिए । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारीले कोरोनाबाट हेटौंडाको सुरक्षाको विषयमा चिन्तित हुनु नपर्ने बताए । प्रदेश सरकारले हेटौंडालगायत प्रदेशका १३ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तीव्र गतिमा काम गरिरहेको बताए । ‘बीरगञ्ज हुँदै हेटौंडा आउने प्रत्येक बसलाई रोकेर स्वास्थ्य परीक्षण गर्न सक्ने अवस्था छैन् । हामीले बसपार्कमै हेल्पडेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण गर्नेछौं । कसैलाई संक्रमण देखिए तत्काल क्वारेन्टाइनमा राख्ने छौं ।’– निर्देशक अधिकारीले भने । सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य सेवा महाशाखा प्रमुख सतिश विष्टले हेटौंडामा क्वारेन्टाइन कक्ष, आइसुलेसन र भेन्टिलेटरसहितको आसियु कक्ष निर्माण गर्ने तयारी तीव्र गतिमा भइरहेको बताए । हेटौंडामा कोरोना भाइरसको संक्रमित देखिए तत्कालन क्वारेन्टाइनमा राखेर उपचार गर्न सकिने विष्टले बताए । मन्त्रालयले कोरोना भाइरसबाट बच्न नियमित सरसफाई गर्ने, खानपिनमा ध्यान दिने, भीडभाडमा नजाने, कोरोनाको लक्षण देखिएकाहरुबाट टाढै रहनेलगायतका थुप्रै विषयमा सावधानी अपनाउन प्रदेशबासीमा आग्रह गरेको छ ।