हेटौंडा, /नोभेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट सावधानी अपनाउनको निम्ति बागमती प्रदेश सरकारले तीन वटै सुरक्षा निकायलाई परिचालन गर्ने भएको छ । प्रदेश सरकारले गरेका निर्णय कार्यान्वयन गराउन नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी परिचालन गर्ने गरी योजना बनाएको हो ।
प्रदेश विपद् व्यवस्थापन उच्चस्तरीय समितिले बिहीबारमात्रै कोरोना भाइरसको संक्रमणबाट हुन सक्ने प्रभावलाई मध्यनजर गर्दै २४ वटा निर्णय गरेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलको संयोजकत्वमा गठित प्रदेश स्तरीय कोरोना नियन्त्रण समिति गठन
गरिएको थियो । उक्त समितिले शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बैठक राख्दै प्रदेशभित्र कसरी कोरोना भाइरसको संक्रमण रोक्ने, सर्वसाधारणलाई कसरी सुरक्षित राख्नेलगायतका विषयमा निर्णय गरेको छ ।
प्रदेशका सुरक्षा निकायका प्रमुखहरुसँग भएको बैठकमा प्रदेशभित्र सेना, प्रहरी परिचालन गर्ने निर्णय भएको मन्त्री जम्कट्टेले जानकारी दिएका छन् । उनले सुरक्षा निकायहरुको संयुक्त टोली बनाएर १३ वटै जिल्लामा हेल्प डेस्क, सर्वसाधारणहरुको भीडभाड नियन्त्रण गर्ने, बजारको अनुगमनलगायतका अन्य क्षेत्रमा परिचालान गर्न लागिएको बताए ।
मुख्यमन्त्री डोरमणि पौडेल अध्यक्ष रहेको प्रदेश विपद् व्यवस्थापन उच्चस्तरीय समितिले कोरोना भाइरसको सम्भावित प्रभावलाई मध्यनजर गर्दै प्रदेशका मुख्य सडक नाका तथा बसपार्कहरूमा सुरक्षा निकाय तथा स्थानीय तहसँगको सहकार्यमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्ने, सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, जीम, हेल्थ क्लब, संग्रहालय, मनोरञ्जन स्थल, डान्सबार, दोहोरी साँझ तथा क्लबलाई चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।
समितिले आमनागरिकलाई अत्यावश्यक काममा बाहेक आवतजावत हिँड्डुल नगर्न प्रदेशबासीलाई सार्वजनिक आह्वान गरेको छ । धार्मिक, सामाजिक, सांस्कृतिक, मनोरञ्जनात्मक र पार्टी प्यालेसलगायतका सार्वजनिक स्थलहरूमा २५ जनासम्म मात्रै भेला नहुन निर्देशन दिएको छ । सार्वजनिक यातायातका सवारी साधनहरूमा सिट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न निर्देशन दिएको छ ।
प्रदेश सरकारको निर्देशनलाई कडाईका साथ कार्यान्वयन गराउन सेना, प्रहरी परिचालन गर्ने तयारी गरिएको मन्त्री जमकट्टेलले बताएका हुन् । उनले निर्देशन अटेर गर्न जोकसैलाई पनि छुट नदिइने बताए । ‘प्रदेशभित्र पूरै कडाईका साथ अनुगमन र निगरानी बढाउने निर्णय भएको छ । सरकारको निर्देशन अवज्ञा गर्नेलाई कारबाही गर्ने निर्णय गरेका छौं ।’– उनले भने ।
कोरोना भाइरस नियन्त्रणको लागि प्रदेशले सबै शक्ति खर्च गर्ने जमकट्टेलले बताए । समितिले बजारमा उपभोग्य सामग्रीको कृतिम अभाव श्रृजना गर्ने, कालोबजारी तथा मिसावट गर्ने कार्यलाई कानुन बमोजिम कारबाही गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । होटेल, रिसोर्ट, रेष्टुरेन्ट, सपिङ मलका सञ्चालकहरूले ज्वरो मापन उपकरण तथा सरसफाइका लागि साबुन पानी र स्यानिटाइजरको व्यवस्था गर्न निर्देशन दिएको मन्त्री जमकट्टेलले जानकारी दिए ।
प्रदेशभरीका होटल, रेस्टुरेन्टहरु बन्द हुने भएको छ । मन्त्री जमकट्टेलका अनुसार होटल पूरै बन्द गर्ने र बैंकहरु सञ्चालनमा ल्याइने छ । बैंकहरुलाई व्यवस्थित र निश्चित मापदण्डमा रहेर सञ्चालन गर्न दिइने उनले जानकारी दिए । यात्रुबाहक सवारीसाधनमाथि १३ वटै जिल्लामा सुरक्षा निकायले निगरानी राख्ने र विदेशी नागरिक र विदेशबाट फर्केका नेपाली नागरिकको पनि अभिलेख राख्ने निर्णय भएको छ ।
हेटौंडा–११ थनाभ¥याङ स्थित आपत्तकालिन प्रकोप व्यवस्थापन केन्द्रको भवनमा कोरोना नियन्त्रण सचिवालय निर्माण गरिने भएको छ । सचिवालयमा कोरोना भाइरस सम्बन्धी कुनै जानकारी, सूचना आदनप्रदान गर्नको निम्ति हटलाइन राखिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, सेना, जनपथ र सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रतिनिधिको उपस्थितिमा सचिवालय सञ्चालन गरिने मन्त्री जम्कट्टेलले बताए ।
उनका अनुसार शनिवारदेखि प्रदेशका १३ वटै जिल्ला सदरमुकामको बसपार्क र भीडभाड हुने स्थानमा हेल्प डेस्क स्थापना गरिनेछ । प्रत्येक शहरमा सचेतनाका कार्यक्रम बढाइने र माइकिङ गरिने भएको छ । प्रदेश सरकारले १३ वटै जिल्ला सदरमुकाममा संक्रमितहरुको उपचारको लागि एम्बुलेन्सको व्यवस्था गर्ने मन्त्री जमकट्टेलले जानकारी दिएका छन् ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, मुख्यमन्त्री पौडेलका राजनीतिक सल्लाहकार जेएन थपलिया, मुख्यमन्त्रि तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव तोयम रायसहित, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख तथा प्रतिनिधि तथा प्रदेशस्तरिय कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।