हेटौंडा/विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकारले भोलि चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिने घोषणा गरेका हुन् । सरकारको राजपत्रअनुसार अत्यावश्यक सेवाभित्र विमानस्थल, सञ्चार, (टेलिफोन), पेट्रोलियम, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य सेवा, हुलाक, डाँक, हातहतियार र आन्तरिक सुरक्षा, खानेपानी, विद्युत्, औषधि निर्माण तथा वितरण, दाल चामल–नुन तेलजस्ता दैनिक उपभोग्य वस्तुको उत्पादन, ढुवानी तथा पैठारी, पेट्रोलियम भण्डारणलगायत पर्दछन् । निजी क्षेत्रका सेवासँग सम्बन्धित कर्मचारी र सेवा प्रदायक कर्मचारीले पनि सकेसम्म घरबाटै सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् । सरकारी कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारीले भने कार्यालयमै उपस्थित भएर सेवा दिने पनि प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
सरकारको निर्णय अनुसार नेपाल भित्रिने सबै अन्तराष्ट्र्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ । साथै सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने बताइएको छ । आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइनेछ । मानिसहरुको भीडभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ । विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।