हेटौंडा, /केही महिनाअघि मात्रै मकवानपुरलगायतका जिल्लाहरुमा महामारीको रुप लिएको डेंगु रोग पुनः देखा पर्न थालेको छ । एक हप्ताअघि मकवानपुरको १ जनामा पनि डेंगु संक्रमण भेटिइसकेको छ । तर, सरकारी तहबाट डेंगुको प्रतिरक्षाको लागि तयारी गरिएको छैन । मकवानपुरमा अहिले डेंगु परीक्षण किटको अभाव छ । परीक्षणको ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पुसको दोस्रो हप्तादेखि फागुन ३० गतेसम्ममा मकवानपुरका १ जनासहित देशभर ३६ जना डेंगुका बिरामी फेला परेको थियो । विभिन्न अस्पतालमा उपचारका लागि पुगेका ३६ जना बिरामीमा डेंगुको संक्रमण देखा परेको महाशाखाले जनाएको छ ।
डेंगुको संक्रमण देखिन सुरु गरे पनि त्यसको परीक्षण गर्न प्रयोग हुने किट भने जिल्लामा नभएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिए । उनका अनुसार गत पुसदेखि नै जिल्लामा डेंगु किट सकिएको हो ।
एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाईबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये डेंगु पनि एक हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु हुन् । एक प्रकारको विषाणुबाट डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ ।
स्वास्थ्य कार्यालयले सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा र प्रदेश स्वास्थ्य निर्देशनालयसँग डेंगु किट उपलब्ध गराउन अनुरोध गरेको उपाध्यायले बताए । डेंगु किटको लागि माग भइसकेको र केही दिनमै उपलब्ध हुने उनको भनाई छ ।
यद्यपी डेंगु किट नहुँदा डेंगु संक्रमणका शंकास्पद बिरामीको स्वास्थ्य परीक्षण प्रभावित नहुने उपाध्यायले बताए । उनका अनुसार अन्य विधिबाट पनि डेंगु संक्रमणको परीक्षण गर्न सम्भव हुनेछ । ‘डेंगु किट नहुँदैमा स्वास्थ्य परीक्षण नै नहुने भने होइन् । अन्य विधिबाट पनि डेंगुको स्वास्थ्य परीक्षण हुन्छ । तर, डेंगु किट भएमा छिटो हुनेछ ।’– स्वास्थ्य कार्यालय प्रमुख उपाध्याले भने ।
चार महिनाअघि मात्रै मकवानपुरमा डेंगु रोगको महामारी फैलिएको थियो । गत साउनदेखि कार्तिकसम्म डेंगुको महामारीले यहाँका २ हजार ४ सय ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । डेंगुबाट हेटौंडाको ४ नं. वडा सबैभन्दा बढी प्रभावित भएको कार्यालयले जनाएको छ ।