हरेक वर्ष मार्च २२ मा विश्वभर मनाइने विश्व पानी दिवस आज आइतबार परेको छ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले मार्च महिनाको २२ तारिखलाई विश्व पानी दिवस भनेर घोषणा गरेपछि विश्वभर मनाउन सुरु गरिएको हो । विश्व पानी दिवस मनाउने क्रममा हरेक वर्ष एउटा समसामयिक नारा बनाइन्छ । यस वर्षको नारा ‘पानी र जलवायु परिवर्तन’ रहेको छ । पानी सम्पूर्ण मानवलगायत सबै जीवको जीवन रक्षाका लागि महत्वपूर्ण हुन्छ । पानीको महत्वलाई बुझाउन तथा यसको संरक्षण गर्नका लागि पानी दिवस मनाउने गरिएको हो । स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा विभिन्न रोगहरु लाग्ने गर्दछ । त्यसभन्दा पनि अहिले विश्वभर व्यापक संक्रमण भइरहेको कोरोना भाइरसबाट मुक्त हुनका लागि पनि सफा पानी उत्तिकै आवश्यक बनेको छ । कोरोना भाइरसबाट बच्ने एउटा महत्वपूर्ण उपायको रुपमा सुझाइएको साबुनपानीले हात धुने र सरसफाइमा ध्यान दिने कार्यका लागि पानी अतिआवश्यक बनेको छ ।
विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनु आजको आवश्यकता बनेको छ । ब्राजिलपछिको जलसम्पदामा विश्वकै धनी देश नेपाल भएपनि अन्य राष्ट्रमा जस्तै नेपालमा पनि पानीको प्राकृतिक स्रोतमा कमी आइरहेको छ । वन विनाश र जलवायु परिवर्तनका कारण पानीका मुहानहरु सुक्न थालेका छन् । जनघनत्व बढी भएका शहरी क्षेत्रमा खानेपानी सुविधा सहज भए पनि पर्याप्त छैन भने छरिएर रहेका विकट ग्रामीण बस्तीमा खानेपानी सुविधा पु¥याउनै कठिन बनिरहेको छ । आधारभूत खानेपानीका लागि एकजना व्यक्तिले एक दिनमा करिब ४५ लिटर पानी पाउनुपर्छ । एक सय मिटरको दूरीभित्र धारा रहेको हुनुपर्छ । मूलको सुरक्षित पानी घरसम्म पु¥याइएको र कम्तिमा दिनको ४ घण्टा धारामा पानी आउने प्रणाली भएको खानेपानी सेवा आवश्यक मानिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडाको शहरी क्षेत्रमा खानेपानी वितरण गर्दै आएको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले पर्याप्त खानेपानी वितरण गरिरहेको जनाएको छ । बोर्डले हाल हेटौंडा उपमहानगरपालिकाको वडा नं. २ देखि १० को सबै भूभागमा खानेपानी वितरण गरिरहेको छ । यसैगरी वडा नं. १, १४, १५, १६ र १७ को केही भूभागमा बोर्डमार्फत् खानेपानी वितरण हुने गरेको छ । बोर्डले १७ हजार ७ सय ९२ धाराहरुबाट बिहान र बेलुका दैनिक सरदर १ करोड ४२ लाख लिटर खानेपानी उत्पादन गरी वितरण गर्दै आइरहेको छ । बोर्डले आफ्नो सेवाक्षेत्रका करिब एक लाख २५ हजार मानिसलाई खानेपानी सुविधा पु¥याइरहेको र नियमितरुपमा पानीको गुणस्तर परीक्षण भइराखेको जनाएको छ ।
नेपालको संविधानले खानेपानी तथा सरसफाइलाई मौलिकहकको रुपमा प्रत्याभूत गरेको भए पनि सबै नागरिकले पर्याप्त र सफा पानी उपभोग गर्न पाएका छैनन् । यस वर्ष कोरोना भाइरसको चर्चाले विश्व पानी दिवस ओझेलमा पर्ने निश्चित छ । कोरोना भाइरस संक्रमणको सम्भावनालाई न्यून गर्न सरकारले सबै नागरिकलाई बारम्बार साबुनपानीले हात धुन आग्रह गरिरहेको छ । तर, कतिपय शहरी क्षेत्रमा पिउने पानीसमेत पर्याप्त नभएको अवस्थामा हातधुन आवश्यक पानी उपलब्ध गराउन सबै तहको सरकार गम्भीर बन्नुपर्छ ।